अप्रिल १ देखि पदयात्रामा जादाँ विदेशी पर्यटकले अनिवार्य गाइड राख्नुपर्ने

काठमाडौँ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागू हुनेगरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी) बन्द गर्ने भएको छ । यो व्यवस्था लागू भएसँगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनुपर्ने भएको छ ।

बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, संचालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको हो । नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ । नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो ।

यस विषयमा नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक ट्रेकिङ युनियनका प्रतिनिधीबीच भएको छलफलमा पर्यटकको सुरक्षा,उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै (एफआईटी)’ बन्द गर्ने निर्णय गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिनुभयो ।

‘यस विषयमा पहिले देखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्तव्य बनाउन पर्छ भन्ने नै थियो । विभागीय मन्त्रीको चासो, निर्देशन तथा सरोकारवालाहरुको सहमतिमा गन्तव्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको छ । यसले समग्रमा राम्रो सन्देश प्रभाव गर्ने छ’ उहाँले भन्नुभयो।

Comments
Loading...