पोखरा महानगरको सर्वोत्कृष्ट कर्मचारी मनोहर कडरिया घोषित

हिमाली आवाज । पोखरा महानगरपालिकाका कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया वर्षको सर्वोत्कृष्ट कर्मचारी घोषित हुँदै नगद सहित सम्मानित हुनुभएको छ ।

महानगरको आज सातौँ स्थापना दिवसमा कडरियालाई वर्ष सर्वोत्कृष्ट कर्मचारीबाट नगद रु २५ हजार सहित सम्मान गरिएको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले सर्वोत्कृष्ट हुन सफल कर्मचारी कडरियालाई सम्मान गर्नुभयो ।

कडरिया विसं २०७४ देखी पोखरा महानगरमा कार्यरत हुनुहुन्छ । उहाँ कर्मचारी समायोजनमा समेत स्थानीय निकायमा रोज्नुभएको थियो । समायोजनामा सुरुआतमा माथिल्लो तहका अधिकाँस कर्मचारीको रोजाई संघ र प्रदेश पर्ने गरेको थियो । तर उपसचिव कडरियाले स्थानीय तहनै रोज्नुभएको थियो । महानगरको सम्मानले आफूलाई थप उर्जा मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सुरुदेखीनै यहीँ काम गरेको र पछि समायोजनमा समेत स्थानीय तहमै काम गरेर राम्रो बनाउँछु भन्ने थियो । आफूले सकेसम्मको मिहिनेत गरेको छु । आजको सम्मानले थप उर्जा मिलेको छ।”

यसैगरी स्थापना दिवस समारोहमा महानगरका विभिन्न महाशाखा तथा कार्यालयहरुमा कार्यरत कर्मचारीहरु नेत्रप्रसाद तिमिल्सिना, हर्क गायक, नरेन्द्रदेवी पौडेल, लक्षु गायक, रोशनी थापा मगर, पुरुषोत्तम थापा, शर्मिला भण्डारी, रवीन्द्र अधिकारी, लोक दर्शन कोइराला र प्रमोद गुरुङ वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित हुनुभएको छ । उहाँहरु सबैले जनही रु १५ हजार पाउनुभयो ।

यसैगरी स्थापना दिवसमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ । पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा वर्गीकरण कार्यमा विशेष सहयोग गर्ने नापी कार्यालय कास्कीका नापी अधिकृत ई.प्रदीप श्रेष्ठ, नापी अधिकृत ई.शोभा आचार्य, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जिल्ला ट्राफिक प्रहर कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल विक्रम खड्कालाई सम्मान गरिएको हो ।

वातावरण संरक्षणका लागि महाअभियान कास्की, श्री पश्चिम पृतना हे.क्वा विजयपुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरा, श्री राईजिङ यूथ क्लब पोखरा २७, श्री भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिई., दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिई. लगायतलाई पोखरा महानगरपालिकाद्धारा सञ्चालित सरसफाइ अभियानहरूमा विशेष सहयोग गरे बापत कदर पत्र प्रदान गरिएको हो ।

Comments
Loading...