पोखराको लेकसाइडमा सुरु भयो फेवा नववर्ष महोत्सवको रौनक

हिमाली आवाज । पोखराको लेकसाइडमा १८ औं फेवा नब वर्ष महोत्सव बुधबारबाट सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुती तथा पंचे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुने छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। कोभिड १९ लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रुपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्धेश्य महोत्सवले बोेकेको उहाँको भनाई छ ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल अगाडि बढाउनुपर्ने भनाई राख्नुभयो । कोरोना पछि देश अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले मार्गदर्शन प्रदान गर्नुपर्ने उहाँको भनाई छ ।

सो अवसरमा होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कुटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र संचालन गरिनुपर्ने माग राख्नुभयो । यहींबाट विदेश उड्ने पोखरेलीको सपना अझै पनि पूरा नहुनु दुर्भाग्य भएको भन्दै उहाँले हतारमा पो विमानस्थल उद्घाटन गरियो कि भनी प्रश्न राख्नुभयो ।

महानगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय शहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताउँदै संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने बताउनुभयो। यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधरणका लागि खोल्ने विषय जोडिएको उहाँको भनाई छ ।

पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्ने विषयमा सरकारसँग गंभीर रुपमा कुरा राखिएको बताउँदै मेयर आचार्यले नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गंभीर बन्नुपर्ने भनाई राख्नुभयो । नक्सा पास नभएका पोखराका घरले कि सोही अनुसार अतिरिक्त कर तिर्नुपर्ने र नत्र ती भत्काइने चेतावनी पनि उहाँको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्र्राष्ट्रिय उडान संचालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराउनुभयो । पृथ्वीराजमार्गको स्तरोन्नती कार्यलाई शीघ्र रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

सो अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र क्षत्री महिला समूहकी अध्यक्ष रमा लामिछानेले पनि भनाई राख्नुभयो । तालवाराही आरती सेवा समितिको तर्फबाट कार्यक्रममा आरती प्रदर्शन गरिएको थियो । गायक जीवन दाहालले पनि सो अवसरमा आफ्नो गीत सुनाउनुभयो ।कार्यक्रमको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गर्नुभएको थियो ।

Comments
Loading...