पोखराका पर्यटन व्यवसायी सिमावर्ती शहरमा प्रवर्द्धन अभियानमा

हिमाली आवाज । नेपालसँग सीमाना जोडिएका भारतीय शहरमा पोखराको पर्यटन प्रवद्र्धन प्रवद्र्धनका लागि भोलीदेखी प्रवद्र्धनात्मक अभियान सञ्चालन हुने भएको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले भारतको सिलगुढीमा ‘बंगाल ट्राभल मार्ट’ मा भदौ २५ गतेसम्म यहाँको प्रवद्र्धन गर्न लागेको हो ।

नाट्टाका अध्यक्ष हरिराम अधिकारीले पोखरा र नेपालको लागि पर्यटकको स्रोत बजारका बनेको नेपालसँग सिमाना जोडिएका भारतका शहरहरुमा प्रवद्र्धन अभियान सञ्चालन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,“नेपालको राजनीतिक घटनाक्रम र विभिन्न प्राकृतिक प्रकोपका कारण अहिले पोखराको पर्यटन सुस्ताइरहेको छ । यस्तो अवस्थामा भारतीय बजारमा बोर्डर सिटी प्रमोसनल अभियान अत्यन्त महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ । यसबाट भारतका शहरहरुबाट पर्यटक आगमन बढाउन मद्धत पुग्नेछ ।”

नाटाले गत वैशाखमा पनि भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरमा प्रवद्र्धन अभियान र ‘बीटुबी मिट’ आयोजना गरेको थियो । त्यस बेलाको अभियानले पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढाउन योगदान गरेको व्यवसायीको भनाई छ ।

भारतको सिलगुढीमा हुने ‘बंगाल ट्राभल मार्ट’मा भारतका विभिन्न शहरहरु, बंगलादेश र भुटानको पाँच सय भन्दा बढी टुर अपरेटरहरुको सहभागिता र एक हजारभन्दा बढी भिजिटरको आगमनले पोखरा, गण्डकी प्रदेश सहित समग्र नेपालको प्रवद्र्धनमा सघाउ पुग्ने बताइन्छ ।

“‘बंगाल ट्राभल मार्ट’मा धेरै देशका ट्राभलहरुको सहभागिता रहने भएकाले हामी उहाँहरुलाई पोखरा घुम्न आउनका लागि सकारात्मक सन्देश दिन्छौँ र यहाँको सडक, हवाईयात्रा लगायतका बारेमा रहेको नकारात्मक कुरा चिछौँ ।” अध्यक्ष अधिकारीले भन्नुभयो ।मार्टमा नाट्टा गण्डकीको समन्वय र पोखरा महानगरपालिकाको सहकार्यमा राखिने स्टलमा बीटुबी छलफल हुनेछ ।

पोखराको कला र संस्कृति झल्कने गरी सजाइने सो स्टलमा पोखराको वृत्तचित्र निरन्तर प्रदर्शन गरिने र अन्य प्रवद्र्धनात्मक सामग्री प्रदर्शन र वितरण गरिने नाट्टाका निर्वतमान अध्यक्ष समेत रहनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र हवाई र स्थलमार्गबाट पुग्न सकिने नजिकको पर्यटकीय गन्तव्य भएकाले पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त भएको विषय आगन्तुकहरुलाई अवगत गराइने नाट्टाले जनाएको छ ।

पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले पोखराको समृद्धि पर्यटन क्षेत्रको विकासबाट मात्र सम्भव भएकाले प्रवद्र्धनात्मक कार्यक्रमलाई महानगरले जोड दिएको बताउनुभयो ।

उहाँले यस अभियानलाई महानगरको तर्फबाट रु १० लाख सहयोग गरिएको जानकारी दिनुभयो। बोर्डर सिटी प्रमोसनल अभियानमा पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायत गरी १३ जनाको सहभागिता रहने नाटका महासचिव संगीता पौडेलले बताउनुभयो ।

Comments
Loading...