आहा ! रारा पोखरा गोल्डकप :आर्मी र थ्रिस्टार आज उपाधिका लागि भिड्दै

हिमाली आवाज । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २३ औँ संस्करणको फाइनलका लागि आज विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्दैछन् ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा दिउसो २ः०० बजेदेखी खेल सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीलाई रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजक सहरा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।

पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।
त्रिभुवन आर्मी क्लब यसअघि चार संस्करणमा प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।

थ्रिस्टार क्बलले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने छैटौँ उपाधिको खोजीमा हुनेछ । आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारै पटक उसले उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रिस्टार विसं २०७५ मा फाइनलमा भिडेका थिए ।

त्यस बेला टाइब्रेकरमा थ्रिस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँचवर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रिस्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रिस्टार विसं २०७४ को १६ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

Comments
Loading...