पोखरामा सुरु भयो ट्रायथोलन च्याम्पियनसिपको तयारी

हिमाली आवाज । पोखरामा आगामी वैशाख १५ र १६ गतेका लागि तय गरिएको एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपको तयारी सुरु भएको छ ।

नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा सो प्रतियोगिता हुँदैछ । प्रतियोगितालाई भव्य बनाउनका लागि तयारी सुरु भइसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

पोखरामा आइतबार साँझ प्रतियोगिताको तयारी स्वरुप ‘ट्रायथोलन फेमिलियराइजेशन’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु, पोखराका पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

नेपाल ट्रायथलन संघले गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले प्रतियोगिता भव्य बनाउने र पोखराले अपनत्व लिने गरी तयारी भइरहेको बतानुभयो । उहाँले भन्नुभयो,“गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी व्यवसायीले अपनत्व लिने गरी प्रतियोगिता सञ्चालन हुनेछ । पोखराको प्रर्वद्धनका लागि च्याम्पियनसिले ठूलो भूमिका खेलेको छ ।”

संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले विश्वका सम्पन्न देशले गर्ने भन्दा कुनै कमी प्रतियोगितामा हुन नदिने र भव्य बनाइने बताउनुभयो ।
ट्रायथोलन खेलको प्रबद्र्धन गर्न संघले पोखरामा आउदो वैशाख ८ र ९ गते लेवल वान कोर्षको प्रशिक्षणको तयारी गरेको संघका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले बताउनुभयो । उहाँका अनुसार यसबाट पोखरेलीहरुले धेरै फाइदा लिन सक्नेछन् ।

पछिल्लो संस्करणमा १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेकाले ट्रायथोलन च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत खेल इभेन्ट भएको देवकोटाले बताउनुभयो ।

संघका गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराज सुवेदी(शिशिर)ले पोखरा ट्रायथोलन खेलका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताउनुभयो ।
कार्यक्रममा संघका महासचिव तथा प्रशिक्षक युवराज सुनारले उक्त खेलको प्राविधिक बिषयमा जानकारी गराउनु भएको थियो । ट्रायथलन कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुलीले यस खेलले पोखराको खेल पर्यटनमा प्रबद्र्धन गर्ने बताउनुभयो ।

च्याम्पियनसिप अन्तर्गत ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराईने छ । दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं— गौरीघाटमा पुगेर टुंगिने पुरानै रुटमा यथावत हुनेछ ।

Comments
Loading...