आपत्कालीन उद्धारका लागि पोखरामा बन्ने भयो मानवीय सहायता स्थल

हिमाली आवाज । भूकम्प, बाढी÷पहिरो जस्ता प्रकाकृति विपद्का बेलामा खोज, उद्धार, आपत्कालीन राहत तथा पुनःस्थापनाका सामग्रीहरुको वितरणलाई सहज बनाउन पोखरामा मानवीय सहायता स्थल निर्माण हुने भएको छ ।

पोखराको पुरानो विमानस्थलभित्रको एक हजार पाँच सय बर्गमिटर क्षेत्रभित्र सो सहायता स्थल निर्माण अघि बढाइएको हो । आपत्कालीन राहत र उद्धारका साथै विपद्को समयमा द्रुत तथा समन्वयात्मक प्रतिकार्यलाई यसले सहयोग पुग्नेछ ।

विश्व खाद्य कार्यक्रमले युरोपेली युनियनसँगको साझेदारीमा रु दुई करोड लगानीमा सहायतास्थल आगामी चार महिनाभित्रमा सम्पन्न हुने कार्यक्रमका परियोजना म्यानेजर मोती थापाले बताउनुभयो ।

उहाँका अनुसार सहायता स्थलमा आपत्कालीन राहत र उद्धारका सामग्रीहरुको पूर्वभण्डारण, प्राप्ति, भण्डार, पुनःप्याकेजिङ तथा विपद् पश्चात निर्दिष्ट स्थानमा ढुवानी तथा वितरणमा सहजीकरण गर्दछ ।

“मानवीय सहायतास्थलले दोहोरो कार्य गर्दछ । संकटको समयमा राहत सामग्री प्राप्त गरी स्थल वा हवाई मार्ग प्रयोग गरी प्रभावित स्थानहरुमा तैनाथ गर्त राहत प्रतिकार्यमा सहयोग गर्दछ ।” थापाले भन्नुभयो ।

देशका विभिन्न स्थानहरुमा यसअघिनै ११ वटा मानवीयस्थल स्थापना गरिसकिएको छ । पोखरामा स्थापना हुने स्थल १२ औँ रहेको बताइन्छ । हरेक प्रदेशमा कम्तिमा एक वटा स्थल रहने छ ।

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सो सहायतास्थल स्थापनाको मुख्य उद्धेश्य प्रदेशमा आपत्कालीन बन्दोबस्नी क्षमता अभिवृद्धि गर्नु रहेको बताइन्छ । यसबाट संकटका समयमा तत्काल प्रभावकारी बन्दोबस्ती सहायता सुनिश्चित गर्नेछ ।

पोखरा सहायतास्थलका फोकल पर्सन रतिन्द्र खत्रीले ठूलो प्रकोप भएको अवस्थामा र काठमाडौँको मानवीय सहायतास्थलमा भीडभाड भएको खण्डमा पोखराको सहायतास्थलले अन्तर्राष्ट्रिय राहत प्रयासहरुको लागि वैकल्पिक प्रवेश विन्दुको रुपमा काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखरा मानवीय सहायतास्थलले स्थानीय आपत्कालीन प्रतिकार्यहरुमा सहयोग पु¥याउने छ । आपत्कालीन बन्दोबस्नी प्रशिक्षण केन्द्रको रुपमा समेत काम गर्नेछ ।”

पोखरा सहायतास्थलमा सात सय मेट्रिक टन भण्डारण क्षमता रहने छ । यसैगरी सात हजार पाँच सय लिटर इन्धन क्षमता, कन्टेनर भण्डार तथा जेनेरेटरहरु तथा प्रशिक्षण, प्रयोगात्मक अभ्यासस्थलहरु लगायत रहने विश्व खाद्य कार्यक्रमका सञ्चार विभागका प्रमुख मोनिका उपाध्यायले जानकारी दिनुभयो ।

Comments
Loading...