हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउसो भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । यसैगरी घटनामा १० जना घाइते भएका छन् ।
दुर्घटनापछि उद्धार गरी पोखराको मणिपाल शिक्षण अस्पतालमा ल्याइएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही ठाउँका ५२ वर्षीय जयराम सुनारलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते पाँच जनाको मणिपाल शिक्षण अस्पताल र पाँच जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको यात्रु बाहक जीप दिउसो ३ः३० बजेको समयमा सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।