पोखरामा पर्यटकलाई तानातान गर्न लाग्यौँ भने कसरी सुरक्षित महसुस गर्लान्?

हिमाली आवाज । पोखरा देशकै पर्यटकीय राजधानी सहर घोषणा भएको छ । चैत पहिलोसाता धुमधामका साथ राजधानी घोषणा गरियो । पर्यटकीय राजधानी पोखरा बनेपनि पर्यटकमैत्री व्यवहार नभएको गुनासो स्वयम् होटल व्यवसायीहरुको रहेको छ ।

पोखरामा पृथ्वीचोक लगायतको सिटी एरियाका होटल व्यवसायीले लेकसाइडका होटल व्यवसायीले पोखरा घुम्न आउने पर्यटकलाई पृथ्वीचोकमा जर्वजस्ती गर्ने गरेको गुनासो पोखेका छन् ।

स्थलमार्गबाट आउने पर्यटक बसलाई कास्कीको सीमाना प्रवेश गरे लगत्तै स्कटिङ गर्ने गरिएको र बसबाट झर्न नपाउँदै झोला तान्ने तथा जर्वजस्ती गरिएको गुनासो पृथ्वीहोटल व्यवसायी समितिका सदस्य समेत रहनुभएका व्यवसायी प्रदीप पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“लेकसाइडबाट हामी होटल व्यवसायी पीडित बनेका छौँ । पाहुनालाई आफ्नो इच्छापूर्वक बस्न पाउने र छनोटको अधिकार अझै प्राप्त हुन सकेको छैन । पोखरा आउने पर्यटकलाई तानातान गर्न तिर लाग्यो भने कसरी पर्यटकले यहाँ सुरक्षित भएको महसुस गर्लान ?”
समितिले आयोजना गरेको शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया,शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्ने अधिकाँस होटल व्यवसायीले पर्यटकलाई छनोटको अवसर दिनुपर्ने र उनीहरुलाई स्वतन्त्रता दिन माग गरेका हुन् ।

होटल संघ पोखराका कोषाध्यक्ष रमेशप्रसाद पौडेलले भने पर्यटकलाई धरपकड गर्ने आफ्नो संस्थाका जो सुकै होटल व्यवसायी भएपनि जोगाउन नलाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विकृति तथा विसंगति हटाउनका लागि सबै एकजुट हुन समेत आग्रह गर्नुभयो । पौडेलले भन्नुभयो,“पृथ्वीचोक तथा लेकसाइड जता बसेपनि पर्यटकलाई स्वतन्त्रता दिनुपर्दछ ।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक मोहनकुमार थापाले कानुन विपरितका गतिवधि भए तत्काल कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लेकसाइड बस्न चाहनेलाई लेकसाइड र सिटीमा बस्न चाहनेलाई त्यही सिटीमै बस्नका लागि छनोटको स्वतन्त्रता दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कानुन विपरितका कार्य गर्ने र जर्वजस्ती गर्नेलाई प्रहरीले कुनै पनि हालतमा छाड्दैन । ”

थापाले होटल व्यवसायीले पाहुनाको सम्पूर्ण विवरण राख्न र होटलमा सिसिटिभि क्यामेरा अनिवार्य जडान गर्न आग्रह गर्नुभयो । प्रहरी प्रमुख थापाले लेकसाइड मात्र २४ घण्टा खुल्ने नभई अन्य क्षेत्रका होटल व्यवसाय पनि मापदण्ड पूरा गरेको खण्डमामा पूरै दिन सञ्चालन हुन सक्ने बताउनुभयो ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृतप्रसाद घिमिरले आफूहरु मर्यादित व्यवसाय गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले पर्यटक स्कटिङ, ट्याक्सी तथा पठाओबाट जर्वजस्ती गर्ने लगायतका अमर्यादित कार्य रोक्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमका अवसरमा संस्थाले प्रकाशन गरेको नववर्ष २०८१ को भित्तेपात्रो विमोचन गरिएको संस्थाका निर्वतमान अध्यक्ष बालकृष्ण न्यूरेले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव ऋषिराम पौडेलले गर्नुभएको थियो ।

Comments
Loading...