आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा सुरु भयो मोटरबोट,मन्त्री चुमानद्धारा उद्घाटन

हिमाली आवाज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ ।
मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो ।
कम्पनीले थप लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ ।
नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीय मन्त्री हरि बहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सन्चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा चुमानले जोड दिनुभयो ।
तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दिपुर जोड्ने बाटोको स्तरोन्नती गरि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले सुनाउनुभयो ।

ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तब्यको प्रवद्र्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको आबुँखैरेनीले दुई बर्षको पहलपछि मोटरबोट सन्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

कति लाग्छ शुल्क ?
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ ।

स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ ।

Comments
Loading...