गण्डकीका एक लाख १० हजार बालबालिकालाई आजदेखी आईपिभी खोप

हिमाली आवाज । गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोे विरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) खोप दिइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अभियानका रुपमा आज जेठ १३ गते देखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र छ हजार नौ सय छ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

विसं २०७१ बाट सुरु भएको आइपिभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुदाँ दुई वर्ष भन्दा बढी अवधि सम्म यो खोप लगाउनबाट छुटेका थिए ।

छुटेका बालबालिकाहरुलाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाई छ ।

सचिव शर्माका अनुसार नियमित खोप तालिका अनुसार आइपिभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाहरुको उमेर समुह निर्धारण गरिएको छ ।

विसं २०७३ वैशाख देखि २०७५ आश्विन सम्म जन्मिएका बालबालिकाहरुलाई मात्र यो खोप दिने गरि लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामाग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समुहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकोले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ ।

विद्यालय नजाने बालबालिकाहरु र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाहरुका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्र मार्फत खोप लगाइने भएको छ ।

खोप अभियानमा मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बाग्लुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार एक सय ५४ बालबालिकालाई आइपिभी खोप दिइने छ ।

यसैगरी कास्कीमा २८ हजार तीन सय सात, मनाङमा एक सय ५३, लमजुङमा छ हजार छ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

पोलयो भाइरसद्धारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । सङ्क्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्यगरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने बताइन्छ ।

Comments
Loading...