एमाले माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा विक्रम गुरुङ निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा विक्रम गुरुङ निर्वाचित हुनुभएको छ ।

यही जेठ २५ गतेदेखी सुरु अधिवेशनको आइतबार सम्पन्न मतदानबाट गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्षमा विजयी गुरुङले एक सय २६ मत प्राप्त गर्दा उहाँका प्रत्याशी केशवराज पोखरेलले ५३ मत पाउनुभएको  निर्वाचन मण्डलका अध्यक्ष राजीव पहारीले बताउनुभयो ।

यसैगरी उपाध्यक्षमा पूर्णबहादुर शाही एक सय ३१ मत सहित विजयी हुनुभयो । उहाँका प्रत्याशी कुलप्रसाद भण्डारीले ४३ मत ल्याउनुभयो ।
सचिवमा ऋषि गौतम एक सय ३१ मत सहित विजयी हुनुभयो । रामप्रसाद अधिकारीले ४३ मत पाउनुभयो । उपसचिवमा फूलमाया गैरे नेपाली एक सय सात मत सहित विजयी हुँदा सीता अधिकारी तिवारीले ६९ मत ल्याउनुभयो ।

यसैगरी उपसचिव खुलामा अमित गौतम(माधव) विजयी हुनुभयो । गौतमले एक सय १३ मत प्राप्त गर्दा प्रत्याशी इराक गुरुङले ६९ मत ल्याउनुभयो ।यसैगरी लेखा कमिटी अध्यक्षमा पदम नेपाली एक सय ६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्याशी राजेन्द्र अधिकारीले ७१ मत पाउनुभएको छ ।

खुला सदस्य तीन जनामा रामजी लामिछाने, दिनेश पोखरेल र मीनराज पौडेल विजयी हुनुभयो । महिलातर्फ शान्ति केसी र विन्दु क्षेत्री निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

युवा महिलामा देउमाया गुरुङ,संगिता विक,किरण अधिकारी र सुश्मा आचार्य विजयी हुनुभयो । युवा खुलामा आठ जना यसअघिनै निर्विरोध निर्वाचित भएका थिए । गाउँपालिका अधिवेशनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका दुई प्यानल बनाएर निर्वाचन भएकोमा उपमहासचिव  गुरुङ पक्षले पदाधिकारी सहित अधिकाँस पदमा जित हासिल गरेको हो ।

Comments
Loading...