गण्डकीका यातायात व्यवसायीको आन्दोलन फिर्ता,चल्न थाले बस

हिमाली आवाज । नेपाल यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशको आह्वानमा आज गण्डकी प्रदेशभर भएको सार्वजनिक यातायात बन्दको कार्यक्रम साँझदेखी फिर्ता भएको छ ।

राइड सेयरिङलाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएपछि गण्डकी प्रदेशका यातायात व्यवसायी आफ्ना गाडी घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका थिए ।

प्रदेश सरकार र यातायात व्यवसायीबीच समस्या समाधानका लागि प्राविधिक समिति गठन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको नेपाल यातायात व्यवयायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगन्द्र केसीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा बनेको कार्यदलले १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाउने छ ।

समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासङ्घका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि र यातायात मजदुरमध्येबाट एक जना सदस्य रहने जनाइएको छ ।

राइड सेयरिङको विरोध गर्दै आज गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको थियो । यातायात सेवा बन्द हुँदा सर्वसाधारण यात्रु गन्तव्यमा पुग्न नसकी अलपत्र परेका थिए ।

प्रदेश सरकारले नीजि सवारी साधन(रातो प्लेट)मा यात्रु बोक्न दिनेगरी राईड सेयरिङलाई वैधानिकता दिन लागेको आरोप व्यवसायीको छ ।
यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले नीजि सवारी साधनहरु रातो प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई यात्रु बोक्न दिनेगरी कार्यविधी बनाएको छ ।

यातायात व्यवसायीहरुले यातायात प्राविधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने लगायतका माग सरकारसँग राखेका छन् ।

Comments
Loading...