हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आज सम्पन्न राष्ट्रियस्तरको खुला डुँगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समुहले उपाधि जितेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका हुन् ।
पुरुषतर्फ बाराही डुंगा घाटले द्धितीय र स्विमिङपुल घाटले तृतीय स्थान हासिल गर्न सफल भए भने फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले द्धितीय, पहारी घाटले तृतीय र जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हाँसिल गरे ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले समान नगद रु ४० हजार, द्वितीयले नगद रु ३० हजार, तृतीयले नगद रु २० हजार तथा सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु १० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षणमा जोड दिनुभयो ।
उहाँले ताल सरंक्षणका लागि पोखरा महानगरसँगको सहकार्यमा फेवातालको सीमाना(तालघर)मा पिल्लरहरु गाड्न सुरु गरिएको जानकारी दिनुभयो ।
“फेवाताल पोखराको गहना हो । तालको सरंक्षणका लागि तीनै तहका सरकारले प्रयास सुरु गरेका छन् । यस कार्यमा सबै पक्षको साथ र सहयोग आवश्यक पर्दछ ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल पर्यटकिय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताउनुभयो ।
फेवा डुंगा व्यवासयी संगठनका अध्यक्ष बलराम गिरीले फेवातालको महत्व बुझाउन पनि यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने कार्यक्रमको अर्को उद्येश्य रहेको गिरीको भनाई थियो ।
सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा थप प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको बताउनुभयो ।