हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका«–७ को पर्यटकीय गाउँ धम्पुस पक्की कालोपत्र सडक सञ्जालले जोडिने भएको छ ।
मध्यपहाडी राजमार्गको हेमजा घट्टेखोलादेखी धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सडक स्तरोन्नतिको कार्य सुरु भएको हो ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामिण सम्पर्क सुधार परियोजना(आरसिआइपी)को रु ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गरी पक्की बनाउन सुरु गरिएको हो ।
भिडियाेमा हेर्नुहाेस् ।

आरसिआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा निर्माण कम्पनी विविआर कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले हाल खानी गाउँदेखी सडक स्तरोन्नति काम सुरु गरिएको भण्डारीले बताउनुभयो ।
माछापुच्छ«े गाउँपालिका–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बन्ने भएकाले धम्पुसका सबै १० वटा टोल लाभान्वित हुने बताउनुभयो । उहाँले माछापुच्छ«े गाउँपालिका–८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सीमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट समेत दुई किमी निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुने बताउनुभयो।
वडाध्यक्ष भण्डारीले भन्नुभयो,“यस सडक बनाउनका लागि धेरै पहल भयो । यसै क्षेत्रका प्रदेश सांसद गण्डकीका तत्कालीन अर्थमन्त्री रामजी बरालको समयमा यसले मूर्त रुप लिएको हो । गाउँपालिका, धम्पुसवासीको निरन्तरको मेहनत सफल भएको छ । सडक निर्माणसँगै धम्पुसको मुहार फेरिने छ ।
निर्माण कम्पनीका साइट इन्चार्ज नरेन्द्र वास्तोलाले एक महिनादेखी सडक निर्माण कार्य सुरु भएको बताउनुभयो । ठेक्का सम्झौताभित्रनै बाटो निर्माण गरिने उहाँको भनाई छ । खानीगाउँ र घट्टेखोला दुवै तर्फबाट बाटो निर्माण गर्ने भएकाले तोकिएको म्यादभित्रमा पूरा हुने उहाँको विश्वास छ ।
घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको विसं २०६१ मा ट्रयाक खुलेको हो । पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माण कार्य सुरु भएसँगै स्थानीय समेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्व प्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्धार समेत हो ।
धम्पुसबाट दर्जनौँ हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको गुरुङ संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउनका लागि पर्यटक धम्पुस पुग्ने गरेका छन् । पर्यटक आगमन वढेसँगै यहाँ सुविधासम्पन्न होटल तथा लजहरु समेत खुलिसकेका छन् ।