हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
https://youtu.be/0B1MGYiMHuY?si=g-88g6MHV5ZSv8Ph
नेपाल स्पोट्र्स एकेडेमीको आयोजनामा यही जेठ २७ देखी ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले आज पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।प्रतियोगिता नेपाल भलिबल सङ्घ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा हुन लागेको हो ।
प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी हुनेछन् । जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश टिम, र न्यू डायमण्ड युथ स्पोट्र्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता ‘लिग तथा नकआउट’ चरणमा सञ्चालन गरिनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
एकेडेमीका अध्यक्ष कोइरालाले भलिबललाई लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगिता मार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
“पोखराको खेलकुदको सहर त्यसमा पनि भलिबल लोकप्रिय खेल रहेको छ । भलिबल खेल विकास गर्ने लक्ष्य राखेका छौँ ।भविष्यमा यो प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै लैजाने योजना छ ।”कोइरालाले भन्नुभयो ।
अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले महासंघले वर्षभरीनै वृहत् खेलकुद महोत्सवका रुपमा विभिन्न खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो । भलिबल खेलको विकास र विस्तारका लागि पोखरामा पहिलोपटक प्रचण्ड कप भलिबल गर्न लागिएको हो ।