हिमाली आवाज । पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उहाँका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गर्नुभयो ।
स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार नेपाल आएका माथियससहित संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेसँगै हर्जाेगको पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवादको आवरण अनावरणसमेत गर्नुभयो ।
अन्नपूर्ण आरोहणको हिरक वर्षकै अवसरमा सङ्ग्रहालय परिसरमा मौरिस हर्जाेग, आङथार्के शेर्पा र वालुङ सोनाम शेर्पाको शालिक अनावरणसमेत गरिएको छ । आङथार्के अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली हुन् भने वालुङ सोनाम मौरिसको आरोहण दलमा शेर्पा टोलीको नेतृत्वकर्ता थिए ।
सोही अवसरमा सङ्ग्रहालमा मौरिसको अन्नपूर्ण आरोहण समेटिएको अडियो, भिडियोसमेत प्रदर्शन गरिएको छ । अन्नपूर्ण प्रथम आरोहणको फोटो प्रदर्शनी पनि बिहीबारै सुरु भएको छ । फोटो र भिडियो अब सङ्ग्रहालयमै राखेर सबै आगन्तुकका लागि खुला गरिने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताउनुभयो ।
अन्नपूर्णमा हर्जाेगले आरोहणका दुःखसुख समेटेका छन् । सअघि २० भाषामा अनुदित भइसकेको यो पुस्तक हालसम्म एक करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ । कार्यक्रममा संघीय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल बुद्ध, वेद र हिमालका कारण विश्वमा परिचित रहेको बताउनुभयो ।

प्रथम अन्नपूर्ण आरोहण पर्वतारोहण क्षेत्रको कोसेढुङ्गा रहेको जनाउँदै उहाँले जलवायु सङ्कटका कारण विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्नुभयो । “माछापुच्छ«े कालापत्थर जस्तो देखिन थाल्यो । हिमालले भोगेको यो असर पूरै पृथ्वीले भोग्नुपर्छ ।” उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गण्डकीका हिमालहरु आरोहणका लागि प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने गर्नुभयो ।
नेपालका लागि फ्रान्सकी राजदूत भिर्गिनी कोर्टेभलले अन्नपूर्ण आरोहण इतिहासकै महत्वपूर्ण क्षण बनेको सुनाउनुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पाहारी, पर्वतारोही पूर्णिमा श्रेष्ठ, विश्वकै १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोही गरिसकेका मिग्मा जि शेर्पा लगायतले भनाई राख्नुभयो ।
वर्षमा करिब सय देशका दुई लाखभन्दा बढी पर्यटक अवलोकन गर्न आउने यो संग्रहालयका सामग्रीलाई डिजिटाइजेसन गर्ने तयारी भएको छ । नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको यो संग्रहालयलाई जाइकाको सहयोगमा डिजिटाइजेसन गर्न लागिएको हो । संघ अध्यक्ष निमानुरु शेर्पा मौरिस हर्जाेग वाल निर्माण गरी हरेक वर्ष जुन ३ मा पर्वतारोहण प्रतियोगिता गर्ने योजना सुनाउनुभयो ।
“हामी यसलाई महत्वपूर्ण र नमुना गन्तव्य बनाउने प्रयत्नमा छौँ । सबै तहका सरकार र सरोकारवालको सहयोगबिना यो सम्भव छैन । ” उहाँले भन्नुभयो । सो अवसरमा विश्व वातावरण दिवसको अवसरमा संग्रहालयल परिसरमा वृक्षारोपणसमेत गरिएको थियो ।