गण्डकी प्रदेशसभाको सामाजिक विकास समितिमा रुचाल चयन

हिमाली आवाज । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दमयन्ती रुचाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसअघि सभापति रहनुभएका फणिन्द्र देवकोटा गत जेठमा मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको उक्त समितिको सभापतिमा रुचाल निर्विरोध निर्वाचित हुनुभयो ।

आज बसेको समितिको बैठकबाट उहाँ सभापतिमा चुनिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो । सभापति चयनका लागि बिहीबार भएको मनोनयन दर्तामा रुचालको एकल उम्मेदवारी परेको थियो ।

नवलपुरकी रुचाल माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति जुट्न नसक्दा लामो समयसम्म समिति नेतृत्वविहीन अवस्थामा थियो ।

एघार सदस्य रहेको उक्त समितिमा नेपाली कांग्रेसका छ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तीन र माओवादी केन्द्रका दुई प्रदेशसभा सांसद छन् । गण्डकी प्रदेशसभामा सामजिक विकास तथा कृषि, प्रदेश मामिला तथा कानुन, अर्थ तथा विकास र सावजनिक लेखा समिति गरी चार विषयगत समिति रहेका छन् ।

Comments
Loading...