हिमाली आवाज । प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठनको संयुक्त आयोजनामा पोखरामा स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा सोमबारदेखि आयोजित तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा प्रेस सेन्टर नेपालका नेता तथा नया पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता शिवहरी ढुंगानाले स्थानिय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राईटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गर्नुभयो । त्यस्तै, फोटो पत्रकार राम गुरुङले फोटो पत्रकारिता सम्बन्धि सहजीकरण गर्नुभयो ।
सो तालिममा ६५ जना पत्रकारहरु सहभागि रहेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा प्रशिक्षार्थीहरुलाई पोखरा–२१, ३३ र ३० का विभिन्न ठाउँमा निर्माण भइरहेका सडकहरुको स्थलगत अवलोकन गराई त्यसको स्थलगत रिपोर्टिङ बारेमा जानकारी गराइएको थियो ।
तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो । सो अवसरमा उहाँले पत्रकारले स्थलगत रिपोर्टिङ गरेमात्रै सत्यतथ्य बाहिर आउने अवस्था बन्ने बताउनुभयो । अन्यथा कसैले भनेको वा सुनेको भरमा मात्रै समाचार लेख्दा तथ्य लुक्ने खतरा रहने उहाँको भनाई छ ।

प्रमुख आचार्यले भन्नुभयो,‘पोखरा महानगरले कति धेरै काम गरेको छ तर जहिलेपनि गरेन भन्ने मात्रै भाष्य तयार गरिएको छ । त्यसैले पत्रकार साथीहरुले फिल्डमै गएर महानगरले गरेको कामको सत्यतथ्य उजागर गरिदिनुहुन अनुरोध गर्दछु ।’कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदीले स्थलगत रिपोर्टिङ पत्रकारिताको मुख्य मर्म भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले स्थलगत रिपोर्टिङले मात्र पत्रकारितालाई जिवन्त बनाउने बताउनुभयो । त्यसैले यसको अभ्यास जीवन्त पत्रकारिताका लागि अपरिहार्य भएको उहाँको भनाई थियो ।
समाजवादी प्रेस संगठन कास्कीका सचिव भीमबहादुर थापाले पत्रकारिताको सुदृढिकरणसँगै पत्रकारको सशक्तिकरणमा महानगरले सघाउनुपर्ने बताउनुभयो ।
तालिमको अन्तिम दिन मंगलबार प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरु सरला त्रिपाठी र असफल गौतमले तालिम स्थलगत रिपोर्टिङ अभ्यासका लागि फलदायी भएको बताउनुभयो । तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै उनीहरुले यस्ता तालिमहरु आगामी दिनमापनि आयोजना भइरहनुपर्नेमा जोड दिए ।
प्रशिक्षक शिवहरी ढुंगानाले तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गनुभयो । ‘अभ्यासले मात्रै पोख्त बनाउँछ’ उहाँले भन्नुभयो ।
प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तथा तालिम कार्यक्रम संयोजक पुष्प दाहाल र सञ्चालन सचिव सरोज अधिकारीले गर्नुभयो ।