हिमाली आवाज । पोखरा । नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिको तेस्रो सम्मेलन मंगलबारदेखी सुरु भएको छ । सम्मेलनको नेकपा(माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले माओवादीको पक्षमा जनलहर देखिएको बताउनुभयो ।
प्रचण्डले २०६४ सालमा जनताले गरेको ‘अपार विश्वास’ जोगाउन नसक्दा पार्टी विस्तारै कमजोर भएको स्वीकार गर्दै अबदेखि पार्टीलाई सर्वहारा वर्गको पक्षमा निरन्तर उभ्याउने सङ्कल्प समेत गर्नुभयो ।

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले आरोह–अवरोका बीच पार्टी संचालन भइरहेको जनाउँदै सम्मेलन पर्वजस्तै बताउनुभयो ।
पार्टीका कास्की संयोजक विश्वप्रकाश लामिछानेले जिल्ला क्रमश माओवादीमय बन्दै गइरहेको दाबी गर्दै त्यसलाई आगामी निर्वाचनमार्फत संगठित गरिने बताउनुभयो ।
सम्मेलनबीच पोखरा क्षेत्रका पुराना कम्युनिष्ट नेतालाई मरणोपरान्त सम्मान गरियो । सम्मानित हुनेमा महानगर सदस्य मसिना विक, पोखरा १४ वडा कमिटीका पूर्व अध्यक्ष शिवराज कँडेल, २६ का पूर्व अध्यक्ष धनबहादुर विक साथै माओवादी नेता सुरेशराज राजभण्डारी छन् ।
महानगर अध्यक्ष हरिनारायण गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोह सचिव जनकराज पराजुलीले संचालन गरेका थिए । सम्मेलत २ दिनसम्म चल्नेछ ।
सम्मेलनका अनुसार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का गण्डकी प्रदेश अध्यक्ष किरण थापा (आमोद) र कास्की जिल्ला संयोजक राजु क्षत्री नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीका प्रदेश अध्यक्ष र जिल्ला संयोजकसहित १४ जना माओवादीमा प्रवेश गरेपछि नयाँ शक्तिमा पहिरो गएको छ ।