‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल:पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

हिमाली आवाज । विभागिय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोट्र्स क्लब पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।पोखरा रङ्गशालाको कभर्डहलमा बुधबार सम्पन्न खेलमा दुबै टोलीले जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् ।

समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९ को सहज जित दर्ता गरी समुह ‘ए’ को विजेता बनेको हो । पुलिसले मंगलबार भएको उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले पराजित गरेको थियो ।

यसैगरी आजको दोस्रो खेलमा न्यु डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीमा नयाँ खेलाडीहरु लिएर मैदानमा उत्र्रिएको गण्डकीलाई पराजित गरेको छ । राष्ट्रिय खेलाडीले भरिएको डायमण्डले गण्डकीलाई २५—८, २५—१० र २५—१२ को सोझो सेटमा पन्छाएको हो ।

यसैगरी बिहीबार लिग चरणका दुई खेल हुने भएको छ । पहिलो खेल दिउँसो ३ः०० बजे एपिएफ बिरुद्ध स्टेप रामपुर र अर्को खेल ५ः०० बजे गण्डकी विरुद्ध एभरेष्ट भलिबल क्लब बीच खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताउनुभयो ।
यही जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments
Loading...