पोखरा,३१ जेठ । पोखरामा आज आयोजना गरिएको निःुशल्क स्वास्थ्य शिविरमा दुई सय ३७ जना लाभान्वित भएका छन् ।
पोखरा महानगरपालिका वडा नं ४ को कार्यालय र नेशनल प्याथ ल्यावद्धारा गणेशटोलको शहरी स्वास्थ्य सेवा केन्द्रमा मधुमेह र मृगौला सम्बन्धी निःशुल्क जाँच शिविर गरिएको थियो ।
त्यसैगरी स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा ल्यावका तर्फबाट अन्य परीक्षणहरुमा समेत विशेष छुट प्रदान गरिएको नेशनल प्याथ ल्याब पोखरा शाखाका प्रमुख अच्युतराज अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरको सोही वडाका वडाध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गर्दै उहाँले वडावासीको हितका लागि नेशनल प्याथ ल्याबसँगको सहकार्यमा शिविर गरिएको बताउनुभयो ।

उहाँले विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु विगतमा समेत गरिएको बताउँदै भन्नुभयो,“वडावासीको स्वास्थ्यलाई मध्यनजर गरी शिविर कार्यक्रम गरेका हौँ । यसअघि समेत विभिन्न कार्यक्रमहरु गरेका थियौँ । स्वास्थलाई प्राथमिकतामा राखेका छौँ ।”
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक तथा मृगौलारोग तथा प्रत्यारोपण विशेषज्ञ डा अमृत केसीले मृगौला सम्बन्धी रोग लाग्नबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्ने र खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्याथ ल्याब शाखा प्रमुख अच्युतराज अधिकारीले पोखरामा मणिपाल अस्पताल र हस्पिटलचोकमा गरी देशभर १६ वटा शाखा सञ्चालन गरिएको बताउनुभयो । उहाँले गुणस्तरीय र सर्वसुलभ शुल्कमा देशभित्रनै सम्पूर्ण प्रयोगशाला परीक्षण गर्दै आएको बताउनुभयो ।
स्थानीय समाजसेवी रामराज कोइरालाले यस प्रकारको शिविरबाट स्थानीय जनताहरु लाभान्वित बनेको बताउनुभयो । उहाँले स्वास्थ्य सचेतना कार्यक्रम स्थानीय सरकारले अभियानका रुपमा पोखरभर सञ्चालन गर्नुपर्ने खाँचो औल्याउनुभयो ।