माओवादी केन्द्र पोखरामा मतदानबाट नेतृत्व चयन,अध्यक्षमा भण्डारी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ ।

यही जेठ २७ गतेदेखी सुरु भएको सम्मेलनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि सफल नभएपछि आज मतदानबाट अध्यक्ष लगायतका पदाधिकारी चुनिएको हो । माओवादी केन्द्रले लोकतान्त्रिक प्रद्धतीलाई अनुसरण गरी निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको जनाएको छ ।

अध्यक्षमा विजयी भण्डारीले ५१ मत प्राप्त गर्दा उहाँका प्रत्याशी जनकराज पराजुलीले ३५ मत पाउनुभयो । यसैगरी उपाध्यक्ष तीन जनामा अर्जुन मल्ल, पुष्पकमल ढुँगाना र देवीमाया अधिकारी विजयी हुनुभयो ।

यसैगरी सहसचिव चन्द्रबहादुर गुरुङ र कोषाध्यक्ष पदमा अनिल परियार विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । सचिवमा यसअघिनै सूर्यप्रकाश तिवारी सर्वसम्मत चुनिनुभएको थियो ।

माओवादी केन्द्र पोखरा महानगरमा दुई प्यानलकाबीच प्रतिस्पर्धा भएको हो । अध्यक्षमा विजयी हुनुभएका भण्डारी प्यानलले पदाधिकारीमा सबै पद जित्दा पराजुली प्यानलबाट कोही पनि निर्वाचित हुन सकेनन् ।

भण्डारी प्यानललाई पार्टीका नेताहरु राजकाजी गुरुङ ,रामजी बराल लगायतको समर्थन थियो भने पराजुलीलाई नेता दीपक कोइराला लगायतको साथ रहेको बताइन्छ।

माओवादीले महानगर कमिटीका सदस्यहरु भने सर्वसम्मत चयन गरिसकेको छ । माओवादी पोखरा महानगर कमिटीमा ८६ सदस्य यसअघिनै सर्वसम्मत निर्वाचित भइसकेका छन् ।  महानगर कमिटी सदस्यहरुबाट मतदान गरी नेतृत्व चयन गरिएको हो ।  माओवादी केन्द्रमा सम्मेलन प्रतिनिधिहरुबाट कमिटी चयन गर्ने र कमिटीले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

सम्मेलनको यही जेठ २७ गते पोखरा सभागृहमा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्नुभएको थियो ।

Comments
Loading...