हिमाली आवाज । पोखरा रंंगशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरूष टि –२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा तनहुँ र स्याङजा विजयी भएका छन् ।प्रतियोगिताको समुह ‘ए’ मा रहेका यी टोलीले दोस्रो दिन समेत जितको लयलाई कायम राखेका हुन् ।
प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई एक सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
म्याग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २३ रनको विशाल योगफल खडा ग¥यो ।
तनहुँको जितमा कृष ऐरले ४८ बलमा एक सय दुईको शतकिय पारी खेले । त्यस्तै दिपेश अधिकारीले आक्रमक रुपमा खेल्दै २५ बलमा ५१ रन बनाउँदै साथ दिए । तनहुँका लागि समीर कँडेलले व्यक्तिगत १८ रन बनाए भने सुप्रिम सुनार २३ रनको योगदान दिए ।
म्याग्दीका लागि रोशन कार्की, सागर कटुवाल र हरि सुवेदीले समान एक÷एक विकेट लिए ।खेलमा जितका लागि दुई सय २४ रनको लक्ष्य सहित मैदानमा उत्रिएको म्याग्दीले १४ ओभरको चौथो बलमा ४६ रनमा बाहिरियो । रोशन कार्की (१८ रन) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् ।
यसैगरी दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा छ चौका र चार छक्का सहित ६१ रनको महत्वपूर्ण इनिङ्स खेले ।
खेलमा जितका लागि एक सय ७९ रनको लक्ष्य पछ्याउन उत्रेको बाग्लुङको ब्याटिङ शुरुदेखि नै दबाबमा रह्यो । बाग्लुङले पूरै २० ओभरमा एक सय रनमै सीमित रहँदा स्याङ्जाका बलरहरू हावी बने । बाग्लुङका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए । कप्तान विश्व कार्कीले १५ रन जोडे ।
प्रतियोगिताको समुह एको खेलमा स्याङजा र तनहुँ दुबै टिमले दुई दुई खेल जित्दै चार÷चार अंक बटुलेका छन् भने म्याग्दी र बाग्लुङ अंक विहिन छन् ।
यसैगरी सोमबारको पहिलो खेल बाग्लुङ र म्याग्दी तथा दोस्रो खेल तनहुँ र स्याङजाका बीच हुने आयोजक प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । प्रतियोगिता कूल आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् ।प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान गरिनेछ ।