गण्डकी प्रदेशस्तरीय क्रिकेट:कास्की र नवलपुरको विजयी सुरुआत

हिमाली आवाज । पोखरा रंगशालाको क्रिकेट मैदानमा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ ।
यही जेठ ३१ गतेदेखी सुरु भएको प्रतियोगितामा आजदेखी लिगचरण अन्तर्गत समूह ‘बी’ का खेल सुरु भएका छन् । समूह ‘ए’ बाट भने स्याङ्जाले फाइनलमा स्थान बनाइसेको छ ।

समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरुआत गरेका छन् । कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखालाई ९१ रनले फराकिलो अन्तरले हराएको हो । जितसँगै यस समूहमा दुवै टोलीको समान दुई अङ्क भएको छ ।
खराव मौसमका कारण छोट्टाइएको १३ ओभरको खेलमा पर्वतले टस जितेर ‘फिल्डिङ’ रोजेपछि कास्कीले पूरै ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय आठ रन बनायो । कास्कीका लागि सफल श्रेष्ठले आक्रामक प्रदर्शन गर्दै २२ बलमा चार चौका र दुई छक्का सहित ४० रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन जोडे ।पर्वतका लागि अमृत गुरुङले तीन विकेट लिए भने रोशन गौतमले दुई विकेट र राजु थापाले एक विकेट लिए ।

जितका लागि एक सय नौ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा चार विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सक्यो । रोशन गौतमले सर्वाधिक ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रनको योगदान दिए ।
कास्कीका सिब्रिन श्रेष्ठले दुई विकेट लिए भने कृष्ण पौडेल र सुभाष भण्डारीले समान एक÷एक विकेट झारे ।

यसैगरी आजनै भएको दोस्रो खेलमा नवलपुरले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गोरखा १५ ओभरको दोस्रो बलमा ‘अलआउट’ हुँदै ५२ रन मात्र बनाउन सक्यो ।नवलपुरका रिजन काफ्लेले ३६ बलमा ३७ रन र अपराजित पौडेलले २३ बलको सामना गर्दै २६ रन बनाउँदै पारीलाई सम्हाले ।

सुदीप अर्यालले १० बलमा २१ रन बनाउँदै तीव्र पारी खेले । गोरखाका युनिश थापाले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने स्वरुप राज श्रेष्ठ र मेहुल श्रेष्ठले दुई÷दुई विकेट लिए ।बुधबार समुह ‘बी’ अन्तर्गत लिगको खेलमा पर्वतले नवलपुरको सामना गर्नेछ भने गोरखाले कास्कीको सामना गर्ने आयोजक गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान प्रतियोगिताका संयोजक ऋषिराम गौतमले बताउनुभयो ।

Comments
Loading...