पोखरामा वडा नं २६ मा उद्घोषण तथा समूह व्यवस्थापन तालिम सम्पन्न

पोखरा,४ असार । पोखरा महानगरपालिका वडा नं २६ को आयोजना एवं शुभ पाटी प्रालिको समन्वयमा उद्घोषणा तथा समूह व्यवस्थापन तालिम सम्पन्न भएको छ ।सो तालिम दुई चरणमा गरी यही जेठ २० गतेदेखी २६ गतेसम्म र जेठ २८ देखी असार ३ गतेसम्म सञ्चालन भएको हो ।

तालिमको समापनमा बोल्दै प्रमुख अतिथि पोखरा वडा नं २६ का वडाध्यक्ष एवं प्रमुख अतिथि नरेन्द्रबहादुर थापाले महिलाको क्षमता विकास र अग्रसरता विना वडाको विकास नहुने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरा आफ्नो टोल, समूहमा समेत अन्यलाई सिकाउन आग्रह गर्नुभयो ।

वडाध्यक्ष थापाले वडालाई नमूना वडा बनाउनका लागि आफू निर्वाचित भइसकेपछि लागिरहेको बताउँदै अन्य वडाले नगरेका नयाँ कार्यक्रमहरु माग गर्न पनि महिलाहरुलाई आग्रह गर्नुभयो ।

वडा सदस्य सुजता बराल सुनारले पहिले पहिले तीन दिनको मात्रै तालिम सञ्चालन गर्दा सहभागीहरुले तालिम अपुग भएको गुनासो गरेपछि साताव्यापी तालिम गरिएको बताउनुभयो । उहाँले सहभागीहरुको प्रस्तुतीबाट आफू निकै प्रभावित भएको भन्दै अव हरेक आमा समूह, टोल विकास संस्थामा तालिमबाट प्रशिक्षित दिदीबहिनीहरुको नेतृत्व गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

वडाका सूचना अधिकारी नवराज सापकोटाले तालिममा सहभागीहरु राम्रोसँग प्रशिक्षित भएकाले सिकेका ज्ञान, सीप र क्षमतालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक घनश्याम पाण्डेले तालिम अवधिभरको सहभागीको सिक्ने उत्साह, उर्जा र सिक्ने हुटहुटी प्रशसंनीय रहेको बताउँदै जिज्ञासु स्वभाव र सक्रिय सहभागिताले उर्जा थपेको बताउनुभयो । उहाँले सहभागीहरुभित्र रहेको क्षमतालाई तालिमले बाहिर ल्याउने काम गरेको बताउनुभयो ।

सहभागीहरु शान्ति केसी, सोनु तामाड, टीका कुमारी सिग्देल लगायतले तालिमले आफूहरुलाई केही गर्ने हुटहुटी जागेको बताउँदै हिजोका दिनमा मञ्चमा पुग्दा ढुकढुक हुनेहरु अव भने ढुक्क भएको बताउनुभएको थियो । तालिममा सहभागी राजेश्वरी ढुँगाना, हिरा रानाभाट, विष्णु रानाभाट तथा तालिममा सहभागी नमूना आमा समूहका सदस्यहरुले गीत मार्फत तालिममा सिकेको कुराको चर्चा गर्नुभएको थियो । दुई समूहमा गरी चलेको तालिममा एक सय २० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई वडाध्यक्ष नरेन्द्र थापा, जनप्रतिनिधिहरु लक्ष्मीदेवी, भट्टराई, सुजता बराल, तीर्थ बहादुर राजभाट, वडा सचिव लिलामणि भण्डारी लगायतले प्रमाणपत्र विरतण गर्नुभएको थियो । वडासदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन तालिममा सहभागी अप्सरा अधिकारी तिमिल्सिनाले गर्नुभएको थियो ।

Comments
Loading...