गण्डकी प्रदेशस्तरीय क्रिकेट:घरेलु टोली कास्कीको लगातार दोस्रो जित

हिमाली आवाज । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा कास्की र पर्वत विजयी भएका छन् ।प्रतियोगिताको समूह ‘बी’ रहेका कास्कीले यसँगै लगातार दोस्रो जित निकाल्दा पर्वतले पहिलो पटक विजयी भएको छ ।कास्कीले गोरखालाई १० विकेटको सानदार जित निकाल्दा पर्वतले नवलपुरलाई १५ रनले हराएका हो ।

यससँगै कास्की दुई खेलमा दुई खेलनै जित्दै चार अङ्कका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान दुई÷दुई अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिगचरणको बिहीबार हनुे खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्नेछ । पहिलो खेलमा गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरका बीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

आजको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ सुरु गरेकामा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रन बनायो ।
टोलीका लागि अभिषेक थापाले ४० बलमा पाँच चौका र तीन छक्का सहित सर्वाधिक ५२ रन बनाए ।

अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए । नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान दुई÷दुई विकेट लिएका थिए ।
खेलमा जितका लागि एक सय ३२ रनको लक्ष्य पछ्याएको नवलपुर १८ ओभरको पाँचौ बलमा एक सय १६ रनमात्र बनाउन सक्यो । गौरव विष्टले २५, स्विकार श्रेष्ठले १८ र बिगत पाण्डेले १७ रन बनाए । पर्वतका कप्तान अमृत गुरुङले चार विकेट लिए ।यसैगरी दोस्रो खेलमा कास्कीले गोरखालाई १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।

टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९ ओभरको पाँचौ बलमा सवै विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो । गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे । कास्कीका सुवास भण्डारीले सर्वाधिक तीन विकेट लिए ।

खेलमा जितका लागि ९१ रनको सामान्य लक्ष्य पाएको कास्कीले आठ ओभरको चौथो बलमा कुनैपनि क्षति बिना लक्ष्य भेट्टायो । अनिल गुरुङले २७ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए । भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा यही जेठ ३१ गतेदेखी सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाले प्रतिस्पर्धा गरेका छन् । च्याम्पियन टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरुस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments
Loading...