हिमाली आवाज । स्याङ्जा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
यहाँका ११ स्थानीय तहका १६ महिनादेखि २३ महिना सम्मका दुई हजार ७४६ जना बालबालिकाले १५ महिना भित्रमा राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता गरेसँगै बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरिएको हो ।
गते बैशाख ९ गते पुतलीबजार नगरपालिकाले सुरु गरेको पूर्ण खोप सुनिश्चितता घोषणा बैशाख २४ गते चापाकोट नगरपालिकाले गरेसँगै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणको बाटो खुलेको थियो ।
स्याङ्जालाई प्रदेशको नवौँ जिल्लाको रुपमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणको घोषणा गर्नु भएको हो ।
घोषणा गर्दै स्वास्थ्य मन्त्री पाठकले खोप कार्यक्रम तीनै तहको सरकारको प्राथामिकताको विषय रहेको बताउनुभो । पूर्ण खोप सुनिश्चितता गरेर मात्र नहुने बताउदै मन्त्री पाठकले सधै दिगोपना आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सरकारले स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरेको बताउदै मन्त्री पाठकले आफू स्वास्थ्य मन्त्री भएपछि नीतिगत, कानुनी र सस्थांगत सुधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो ।सहभागिहरुले अगामी दिनमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धताका साथ हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश पूर्वमन्त्री सीता सुन्दास, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु बगाले, भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य, कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
यहाँको पुतलीबजारका ५२३ जना, भीरकोटका २५३ जना, हरिनासका १३१ जना, बिरुवाका ८६ जना, गल्याङका ३२३ जना, आँधीखोलाका १४६ जना, अर्जुनचौपारीका १५७ जना, वालिङ्का ६२० जना, फेदीखोलाका ११४ जना, कालीगण्डकीका २०५ जना र चापाकोटका १८८ जना १५ बर्ष सम्मका बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चितता गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाई जानाकारी दिनुभयो ।
पूर्ण खोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता घोषणामा अहम भूमिका निर्वाह गर्ने उत्कृष्ठ ११ वटा खोपकार्यकर्ता, ११ वटा स्वास्थ्य संस्था र कालिगण्डकी, अर्जुनचौपारी र वालिङ नगरपालिकालाई नगदसहित सम्मान गरिएको थियो ।