सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना आवश्यक

हिमाली आवाज । वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा क्रियाशील सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले पोखरामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सूचना, सीप र सरकारी पहलको जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरिएको सामी कार्यक्रमका जिल्ला संयोजक आदिम ध्वज श्रेष्ठले बताउनुभयो ।

पोखरा महानगरपालिकाद्धारा आयोजित कार्यक्रममा “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल नाराका साथ श्रम आप्रवासनका विविध पक्षमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा संयोजक श्रेष्ठले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीको वर्तमान अवस्था, सरकारका प्रयास र गण्डकी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमहरू बारे विस्तृत जानकारी गराउनुभयो ।

पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहालले वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवा सुविधा बारे जानकारी दिनुभयो । यस्तै नगरप्रमुख धनराज आचार्यका प्रेस संयोजक भीम थापाले वैदेशिक रोजगारका सवालमा सञ्चारकर्मीको संवेदनशीलता विषयमा प्रस्तुति दिनुभएको थियो ।

श्रेष्ठले सामीले कास्कीको पोखरा महानगरपालिका २ स्थान, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा पनि सेवा केन्द्रहरू सञ्चालनमा रहेको बताउनुभयो । ती सेवा केन्द्रहरूबाट सूचना तथा परामर्श सेवा, पूर्व प्रस्थान तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, कानुनी सचेतना लगायत सेवाहरू उपलब्ध छन् । श्रेष्ठले गण्डकी प्रदेशको हालसम्मको वैदेशिक रोजगारी सम्बन्धी विवरणहरू प्रस्तुत गर्नुभएको थियो ।

Comments
Loading...