प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कास्कीमा ६ करोड बढी अनुदान वितरण

हिमाली आवाज । कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत चालू आर्थिक वर्ष २०८१÷०८२ मा रु छ करोड ३७ लाख अनुदान वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीका प्रमुख माधव लम्सालले यस वर्ष परियोजनाले पशुपन्छी, फलफूल तथा तरकारी, स्वास्थ्य लगायतका क्षेत्रमा अनुदान प्रदान गर्ने गरेको बताउनुभयो । प्रमुख लम्सालले अनुदान प्राप्त योजनाहरुको प्रगति सन्तोषजनक रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यालय प्रमुख लम्सालले भन्नुभयो,“कृषि, पशुपन्क्षी लगायतका क्षेत्रमा हामीले यस वर्ष ६ करोड भन्दा बढी कृषकलाई अनुदान वितरण गरेका छौँ । हामीले गरेको लगानी सन्तोषजनक छ । कृषकहरु उत्साहित हुनुहुन्छ ।”

परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको आज अनुगमन गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा परियोजनाका कास्की संयोजक लिलाधर पौडेलको नेतृत्वमा अनुगमन टोलीले पोखरा महानगरपालिका–११ काहुको सिस्नेरी च्याउ फर्म, पोखरा–६ जरेबरको चिसापानी कृषि तथा पशुपंक्षी फर्म, पोखरा–१६ दीपको जय देउराली कृषि फर्म, पोखरा–२५ झिझिर्कास्थित माया इको भिलेज, माछापुच्छ्रे गाउँपालिका–६ धितालको धिताल दुग्ध उत्पादन कृषि सहकारी संस्था सञ्चालित दुग्ध संकलन तथा प्रशोधन केन्द्र, साथै पोखरा–२५ हेम्जास्थित विभिन्न कृषि फर्महरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा प्रमुख पौडेलले सरकारले कृषिमा गरेको लगानी उत्पादनमुखी, प्रतिफलमुखी र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै कृषि तथा किसानका विषयलाई प्राथमिकतामा राख्न सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो ।

परियोजना कास्की कार्यालयका प्रमुख माधव लम्सालले कार्यालयले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिँदै निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताउनुभयो।

अनुगमन कार्यक्रममा कृषि सम्बन्धित कास्कीस्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, कृषक, विज्ञ समूह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Comments
Loading...