हिमाली आवाज। यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज यहाँ भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताउनुभएको हो ।
धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन ५ गते पहिलो सोमबारदेखि यस्तो सुविधा दिन लागिएको उहाँले जानकारी दिनुभयो ।
सोमबारदेखि चार वटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् । यसमध्ये दुई वटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुई वटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको सदस्य सचिव जोशीले बताउनुभयो ।
“पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलो पटक हो । बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइनेछ । साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन्”, उहाँले भन्नुभयो ।