– राम नेपाली (आर्यन)
नेपालको हिमाली सौन्दर्यको प्रतीक मानिने माछापुच्छ्रे हिमाल, त्रिकोणाकार चुचुरोले संसारभरिका पर्यटकलाई लोभ्याउने, केवल पोखराबाट देखिने ’दृश्य’ मात्र होइन; यो स्वयम् माछापुच्छ्रे गाउँपालिकाको गौरव र पहिचान हो।
यो हिमाल गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित छ। माछापुच्छ्रेको एक चुचुरो वडा नं. ९ मा, अर्को चुचुरो वडा नं. १ मा पर्दछ। यसको उचाइ ६,९९३ मिटर (२२,९४३ फिट) छ। स्थानीय गुरुङ भाषामा यसलाई ’कतासुँ क्लिको’ भनिन्छ, जसको अर्थ हो ‘पवित्र चुचुरो’। यही कारणले यो हिमाललाई Holy Mountain of Nepal भनेर पनि चिनिन्छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले यसको महत्व अत्यन्तै गहिरो र अमूल्य छ।
तर विडम्बना…
पछिल्लो समय विभिन्न मिडिया, प्रचार सामग्री, सामाजिक सञ्जाल र पर्यटकीय अभियानहरूमा माछापुच्छ्रे हिमाललाई केवल ‘पोखराको प्रतीक’ को रूपमा प्रस्तुत गरिँदैछ। हिमालकै नामबाट चिनिने माछापुच्छ्रे गाउँपालिकाको नाम उल्लेख नगरी, त्यसको अस्तित्वलाई नै ओझेलमा पारिएको देख्दा हामी पालिकावासीलाई गहिरो पीडा भएको छ।
गण्डकी प्रदेश सरकारले पोखरालाई ’नेपालको पर्यटकीय राजधानी’ घोषणा गर्दा माछापुच्छ्रे गाउँपालिकाको कुनै सहभागिता, परामर्श वा प्रतिनिधित्व सुनिश्चित गरिएको थिएन। यस्तो एकतर्फी निर्णयले हामीलाई उपेक्षित महसुस गराएको छ।
पानी माछापुच्छ्रेको, प्रयोग पोखराको – मूल्यचाहिँ कसैले नतिर्ने?
माछापुच्छ्रे गाउँपालिकाका खोलानालाबाट पोखरा महानगरलाई दैनिक ४ करोड ५० लाख लिटरभन्दा बढी शुद्ध पानी आपूर्ति हुन्छ। तर खानेपानी संस्थान र महानगरपालिकाले यसबापत पालिकालाई अहिलेसम्म कुनै महसुल, अनुदान वा संरक्षण सहयोग प्रदान गरेका छैनन्।
पालिका र स्थानियवासीले पटक–पटक ज्ञापन बुझाउँदै, जमिन कटान, नदी नियन्त्रण र मूल संरक्षणका लागि सहयोग माग्दा पनि गम्भीर सुनुवाइ भएको छैन। यसले स्रोत क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवन, सम्पत्ति र आत्मसम्मानमाथि गम्भीर असर पारिरहेको छ।
हाम्रो माछापुच्छ्रे, अपार सम्भावनाको केन्द्र
माछापुच्छ्रे गाउँपालिकाभित्रका मर्दी हिमाल, खुमाई डाँडा, धिताल, धम्पुस, पोखरा क्यानोनिङ लगायतका आकर्षक पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दो छ। तर प्रदेश वा संघ सरकारको लगानी र पूर्वाधार विकासमा चासो भने देखिएको छैन।
हाम्रो माछापुच्छ्रे केवल छायाँ हैन — त्यो नै शिर हो, आत्मा हो, र हाम्रो सामूहिक पहिचानको मूल स्रोत हो।
पहिचानको अपमान अब सहन सकिन्न
अब समय आएको छ — हामी सबै माछापुच्छ्रे गाउँपालिकावासी एकजुट, सचेत र सजग बनौं।यदि कुनै मिडिया, विज्ञापन, अभियान वा सामाजिक सञ्जाल पोस्टमा माछापुच्छ्रे हिमाललाई केवल ‘पोखराको दृश्य’ भनेर चित्रण गरिन्छ भने, त्यसको शान्त, तर दृढ प्रतिवाद गरौं।
हाम्रो हिमालमाथि, हाम्रो पालिकामाथि र हाम्रो पहिचानमाथि कुठाराघात सहन हामी तयार छैनौं। हाम्रो गौरवको रक्षा, हाम्रो साझा जिम्मेवारी हो।
माछापुच्छ्रे हाम्रो हो, केवल छायाँ होइन, अस्तित्व र आत्मसम्मानको प्रतीक हो।