पोखरा १२ को कार्यालयमा प्राचिन शैलीको प्रवेशद्धार र आकर्षक फल्चा उद्घाटन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं.१२ कार्यालय परिसरमा  निर्माण गरिएका विभिन्न संरचनाहरूको उद्घाटन  गरिएको छ । परम्परागत प्रवेशद्वार, फल्चा र सुन्दर बगैँचा लगायतको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गर्नुभएको हो ।

पोखरा महानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सन्तोष बास्तोलाको नेतृत्वमा वडाका जनप्रतिनिधि,  सरोकारवाला, निर्माण समिति लगायतको सक्रिय सहभागितामा करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएका यी संरचनाहरू निकै आकर्षक रहेका छन् ।यसले सेवाग्राहीहरूलाई समेत आराम गर्ने र सहज रूपमा सेवा प्राप्त गर्ने वातावरणको सृजना हुने अपेक्षा गरिएको छ ।

वडा कार्यालय परिसरमा निर्माण भएका आकर्षक संरचनाहरुको उद्घाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले साविकको पोखरा नगरपालिका हुँदै विकास भएको पोखरा, साविकको लेखनाथ र महानगरपालिका निर्माण हुँदा गाभिएका गाविसको विकास गरेर तीन प्रकारको प्राथमिकता र मनोविज्ञानको आधार महानगरको विकास निर्माणलाई अगाडि बढाइएको बताउनुभयो । महानगरमा विकास निर्माणको आधार तयार भएको भन्दै अब विस्तारै रिजल्ट देखिने जानकारी उहाँले दिनुभयो  । विदेशी दातृ निकायको सहयोगमा विभिन्न परियोजनाहरु सुरु भइसकेको महानगर  प्रमुखको भनाई छ ।

प्रमुख आचार्यले अहिले नमुना वडा कार्यालयका रुपमा पोखरा १२ को वडा कार्यालय र यसको परिसर रहेको भन्दै वडा नम्बर १२ सुविधासम्पन्न वडाका रुपमा विकास भइसकेको बताउनुभयो । वडाध्यक्षको सक्रियतामा महानगरको साथले विकास निर्माणका कार्य अगाडि बढेको आचार्यको भनाई छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले पूर्वाधारहरु आकर्षक बनेका चर्चागर्दै जनताले सेवापनि त्यहीढंगले प्राप्त गर्ने अपेक्षा गर्नुभयो ।

वडाध्यक्ष सन्तोस बास्तोलाले निर्माण भएको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिट नभएर एक महत्वपूर्ण सांस्कृतिक र मौलिकताको उदाहरणको रुपमा रहेको बताउनुभयो । परम्परागत सीप, शैली र संस्कारको संरक्षणमा वडा कार्यालय लागि परेको चर्चा गरेका उनले विकासका लागि बजेटको अभाव नभएको जानकारी दिनुभयो । वडाध्यक्ष बास्तोलाले भन्नुभयो,‘हामीले निर्माण गरेको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिट होइन, यो एक महत्वपूर्ण सांस्कृतिक र मौलिकताको उदाहरण हो । यसलाई यसैरुपमा लिइदिनुहोला ।’

उक्त अवसरमा निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर कार्की, वडा सदस्य सन्तबहादुर परियार र वडा सचिव सारदा सापकोटा लगायतले भनाई राख्नुभयो।

Comments
Loading...