हिमाली आवाज । नेवारी समुदायमा प्रख्यात क्वाँटी खाने संस्कृतिको प्रवद्र्दन गर्न पोखरा–१३ स्थित बालगोपाल युवा समितिको आयोजनामा गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्वाँटीसहित नेवारी परिकारहरुको प्रदर्शनीसँगै स्वाद चखाइएको थियो । जहाँ दिनभरी नै क्वाँटी तथा नेवारी परिकारको स्वाद लिनेको भीड लागेको थियो । त्यस्तै, कार्यक्रममा नेवारी परम्परागत बाजा तथा नाचहरु प्रदर्शन गरिएको थियो ।
सो अवसरमा स्थानियहरुले लाखे नाच, धिमे बाजादेखि अन्य सांस्कृतिक प्रस्तुतीहरु दिएको आयोजक बालगोपा युवा समितिका अध्यक्ष तथा तेस्रो गौंडाकोमुख क्वाँटी तथा गाईजात्रा उत्सव कार्यक्रमका संयोजक धिरजप्रसाद ढेवाजुले जानकारी दिनुभयो ।
विगत तीन वर्षदेखि आयोजना हुँदै आएको क्वाँटी तथा गाईजात्रा उत्सवमा नेवार युवा तथा युवतीहरु आ–आफ्नो भेषभुषामा सहभागि हुने गरेको नेवा मिसाः पुच पोखरा–१३ की अध्यक्ष सोनी ढेवाजुले बताउनुभयो ।
कार्यक्रममा ब्राह्मण, क्षेत्रीदेखि गुरुङ, मगर लगायत जातजातिका बालबालिकाहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए । उत्सवको अवसरमा झिलिमिली ध्वजापताकाले दुलही झैं गौंडाकोमुखलाई सिंगारिएको छ भने विभिन्न स्टलहरु राखेर नेवारी संस्कार, संस्कृतिको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलाइएको छ ।
कार्यक्रमको उद्घाटन पोखरा–१३ का वडाध्यक्ष किरण बरालले गर्नुभयो । कार्यक्रममा बाल गोपाल भजन किर्तन सेवा समितिका अध्यक्ष माधवनारायण श्रेष्ठ, पोखरा–१४ का वडाध्यक्ष बोधराज कार्की, नेवाः खल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, नेवा मिसा पुचःपोखरा–१३ कि सचिव मिना श्रेष्ठ लगायतले क्वाँटी संस्कृति, गाईजात्रा संस्कृति बारे चर्चा गर्नुभयो ।