हिमाली आवाज । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सेवा समय विस्तार गरेको छ ।
प्रशासनले यही साउन २२ गतेदेखी सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरुले सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनमा बिहान ८ बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाएको छ ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको दैनिक भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन गरिएको हो ।परिचयपत्र सेवाका लागि एकैपटक ठूलो संख्यामा सेवाग्राहीहरु कार्यालयमा उपस्थित हुँदा कार्यालयमा चाप परेकाले सहज ढंगबाट सेवा प्रवाहका र सुविधाका लागि समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
उहाँका अनुसार सामाजिक सुरक्षाभत्ता परिचयपत्र नविकरण तथा लाभग्राही सूचीकरण हुन योग्य सेवाग्राहीहरुका लागि यसबाट सहयोग पुग्नेछ ।
सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरु र अशक्त सेवाग्राहीहरुको समेत चाप रहेको प्रशासनले जनाएको छ ।