हिमाली आवाज । राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ मा रिजल्टमा उत्तिर्ण भएका विद्यार्थीलाई यहाँस्थित प्रतिभा माविले आइतबार एक कार्यक्रम गरि सम्मान गरेको छ । व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तिर्ण विद्यार्थीलाई सम्मान गर्दै विद्यार्थीलाई यसपछिको अध्ययन बारे पनि जानकारी दिएको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । उक्त अवसरमा मेयर आचार्यले कक्षा १२ को अहिलेको परिणामले सिंगो पोखराले गर्व गर्न पाएको बताउनुभयो । विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावको मेहनतले गर्दा परिणाम उत्कृष्ट आएपनि त्यसको हकदार महानगर पनि हुने उहाको भनाई छ ।
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले अहिलेको रिजल्टले विद्यालयको इतिहास रचेको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा योपटक सर्वाधिक अंक ३.९६ जिपिए रहेकोमा प्रतिभाका नौजना विद्यार्थीले उक्त उत्कृष्ट नतिजा हात पारेर विद्यालयको इतिहास रचेको प्राचार्य सापकोटाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘समग्रमा पोखराको १२ कक्षाको परीणाम अध्ययन गर्ने हो भने प्रतिभाको रिजल्टले योपटक निकै नै फड्को मारेको छ । यो समग्रमा पोखराका लागि पनि गर्वको कुरा हो । प्रतिभाले बारम्बार फरक फरक क्षेत्रमा इतिहास रचेको थियो । योपटक देशकै उत्कृष्ट रिजल्टमा आफुलाई हकदार सावित गरेको छ ।’
प्रतिभाबाट १२ कक्षा उत्तिर्ण गरेपछि गएका विद्यार्थीले विभिन्न प्रवेश परीक्षामा आफुलाई अब्बल सावित गराएको पनि उहाँले बताउनुभयो ।
प्रतिभा मविका संचालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभाले हरेक वर्ष शैक्षिक क्षेत्रमा भिन्दै पहिचान कायम गर्न सकेकोमा योपटक त्यसले थप निरन्तरता पाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रतिभाको इतिहासमा इटा थप्न यो पटक विद्यार्थीले ठुलो योगदान दिएका छन । विद्यार्थीले कोरेको यो इतिहासलाई आगामि दिनमा निरन्तरता दिन विद्यालय अझ लाग्नेछ ।उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि प्रतिभा सधैं तयार छ ।’