पोखराको कालिका बहुमुखी क्याम्पसमा बिदाई तथा शुभकामना कार्यक्रम

हिमाली आवाज । पोखरा महानगरपालिका –१४, काजीपोखरी स्थित पोखराको एक प्रतिष्ठित क्याम्पस कालिका बहुमुखी क्याम्पसको शिक्षा विभागको आयोजनामा आज बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसको बि. एड. तेस्रो बर्षका बिद्यार्थीहरुको सक्रिय सहभागितामा चौथो वर्षका विद्यार्थीहरूको सम्मानपूर्वक बिदाई तथा भविष्यका लागि शुभकामना व्यक्त गर्ने विशेष कार्यक्रम सम्पन्न गरिएको छ । शिक्षा विभागका प्रमुख लोकनाथ सुवेदीको अध्यक्षता तथा क्याम्पस प्रमुख सह–प्राध्यापक विरञ्जी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा क्याम्पसका पदाधिकारी, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरूको गरिमामय उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि तथा क्याम्पस प्रमुख विरञ्जी गौतमले शिक्षा बिभागले अध्ययन अनुसन्धानात्मक कार्यको साथ साथै निरन्तर रुपमा विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो । शिक्षा बिभागका विद्यार्थीहरूलाई “क्याम्पसका आदर्श विद्यार्थी”को रूपमा सम्बोधन गर्दै, यसप्रकारका कार्यक्रमले अन्य बिभागका विद्यार्थीहरूका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले शिक्षा विभागलाई क्याम्पसको नमुना विभागको रूपमा स्थापित गर्ने कार्यमा विद्यार्थीहरूको योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै, “शिक्षाशास्त्र अध्ययन गर्नु उच्चतम र प्रतिष्ठित अवसर हो । किनभने संसारका हरेक बालबालिकाहरुलाई असल शिक्षा दिने ,असल संस्कार सिकाउने तथा भविष्यमा एक असल नागरिक तयार पार्नको लागि शिक्षकहरुको अत्यन्त महत्वपूर्ण भुमिका रहन्छ । त्यसैले तपाईंहरू भविष्यमा एक असल र प्रतिष्ठित शिक्षकको रुपमा चिनिनुहुेछ साथै क्याम्पसलाई निरन्तर सहयोग गर्दै, समाजमा ज्ञानको उज्यालो फैलाउनुहुनेछ भन्ने पूर्ण विश्वास छ” भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

सह–क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले शुभकामना मन्तव्य ब्यक्त गर्दै, शिक्षा विभागले गरेका यसप्रकारका कार्यक्रमले क्याम्पसको शैक्षिक तथा सांस्कृतिक जीवनमा अनुकरणीय भूमिका खेलेको उल्लेख गर्नुभयो । साथै यस किसिमका क्रियाकलापले विद्यार्थीहरुको नेतृत्व क्षमता , समन्वय कौशल र क्याम्पसप्रतिको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

तेस्रो वर्षका विद्यार्थीहरूको तर्फबाट अर्चना बोहराले बिदाई मन्तव्य प्रस्तुत गर्दै, चौथो वर्षका विद्यार्थीहरूको अध्ययनकालका स्मरणीय क्षणहरू, शैक्षिक योगदान तथा सहकार्यको भावना प्रति सम्मान व्यक्त गर्नुभयो । त्यसैगरी चौथो वर्षका विद्यार्थीहरूको तर्फबाट करण नेपालीले कार्यक्रमलाई सम्बोधन गर्दै, क्याम्पसमा बिताएका चार वर्षको अनुभव, शिक्षण–अध्ययनका क्रममा प्राप्त ज्ञान र सीप, तथा क्याम्पसप्रति रहेको भावनात्मक सम्बन्धलाई जीवनभर कायम राख्ने प्रतिज्ञा व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीले कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै, “तपाईंहरू क्याम्पस र समाज बीचको सेतु बन्नुहुनेछ । यहाँ सिकेका राम्रा कुराहरू जीवनमा आत्मसात गर्दै, दुःख–कष्टलाई बिर्सेर सकारात्मक सोचका साथ अघि बढ्नुहोस् । भविष्यमा तपाईंहरूको सफलता मात्र होइन, क्याम्पसको प्रतिष्ठामा पनि वृद्धि होस् भन्ने हाम्रो कामना छ” भन्नुभयो ।
यस क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएका विद्यार्थीहरुलार्ई कार्यक्रमका अध्यक्ष एवं प्रमुख अतिथि तथा क्याम्पस प्रमुखले मायाको चिनो प्रदान गरिरहँदा भावुक वातावरणबीच आयोजित सो कार्यक्रममा बिदाइका शब्दसँगै भविष्यप्रतिको विश्वास, आशा र उत्साहका स्वरहरु गुञ्जिएका थिए । कार्यक्रमको सञ्चालन तेस्रो वर्षकी विद्यार्थी स्नेहा छन्त्यालले सञ्चालन गरेकी थिइन ।

Comments
Loading...