हिमाली आवाज । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । महोत्सवको मूल नारा ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पु¥याऔं’ राखिएको छ । नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष झण्डै ८ हजार दर्शकले अवलोकन गरेको यस महोत्सवमा यस वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाको सहभागिता रहनेछ । आन्तरिक तथा बाह्य पर्यटकको व्यापक सहभागिताको पनि अपेक्षा गरिएको छ ।
महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् । गत वर्ष ३० समूहको प्रतिस्पर्धा रहेको तीज गीत प्रतियोगिता यस वर्ष अझै उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
टेवान महासचिव शोभा अधिकारी पौडेलले पहिलो दिन विहान १०ः३० बजे हल्लनचोकबाट बाजागाजासहित भव्य ¥याली निकालिने जानकारी दिनुभयो । पर्यटन व्यवसायीका संघसंस्था, आमा समूह, दिदी बहिनी समूह र विविध सांस्कृतिक समूहको सहभागिता रहने उक्त ¥यालीपछि उद्घाटन समारोह हुनेछ । सोही दिनबाट खुला तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन विहान १० बजेबाट खेलकुद प्रतियोगिता सुरु हुनेछ । रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् ।
यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सव सम्पन्न गर्न झण्डै १७ लाख रुपैयाँ खर्च हुने छ ।
महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ठोस योगदान पु¥याउने पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताउनुभयो । उहाँले आगामी वर्षदेखि वार्षिक रुपमा टेवानको तीज महोत्सवका लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान गराउन यो महोत्सवले प्रत्यक्ष सहयोग पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । पर्यटन महिला व्यवसायीको क्रियाशीलता र सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले भूमिका खेल्ने बताए । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।
महोत्सवको मुख्य प्रवद्र्धकमा पोखरा महानगरपालिकाको कार्यालय र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्को सहयोग रहेको छ ।