पोखरा–भुटानको पारो अन्तर्राष्ट्रिय चार्टर उडान हुने

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले चार्टर उडान गर्न लागेको हो ।
युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाएको छ ।

ट्राभलका सञ्चालक परासर प्रसाईंले १२ असोजसहित १६, २० र २४ गते उडान हुने जानकारी दिनुभयाे। भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो ।पोखराबाट पारो अन्तर्राष्ट्रिय उडानपछि नियमित उडानको ढोका खुल्ने विश्वास पोखरेलीको छ ।

चार्टर उडानको बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगर प्रमुख धनराज आचार्यले नियमित उडानका लागि महानगरले पहल गर्दै आएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणपछि नियमित उडानको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकीका पर्यटनमन्त्री मित्रलाल बस्याले प्रदेश सरकारले समेत विमानस्थल चलाउन निरन्तर पहल गर्दै आएको जानकारी दिनुभयो ।
युटिटीका कार्यवाहक अध्यक्ष परासर प्रसाइले सबैको साथ र निरन्तरको प्रयास भएको खण्डमा पोखरादेखी नियमित अन्तर्राष्ट्रिय उडान सम्भव रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–पारो अन्तर्राष्ट्रिय चार्टर उडान हुनेको घोषणाले आफूहरुमा उत्साह छाएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले नियमित उडानका लागि निरन्तर पहल गर्न समेत आग्रह गर्नुभयो ।
पोखरा विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटनको तीन वर्ष पूरा हुँदा समेत यहाँबाट केही चार्टर उडान मात्र हुँदै आएको छ ।

Comments
Loading...