हिमाली आवाज । गण्डकी प्रदेशसभा सचिवालयका संस्थापक सचिव हरिराज पोखरेल पाँच वर्षे सफल कार्यकाल पूरा गरी बुधबार सम्मानपूर्वक विदा हुनुभएको छ । उहाँको विदाईमा प्रदेशसभा सचिवालयले एक विशेष कार्यक्रमका आयोजना गरेको थियो ।
सभामुख कृष्णप्रसाद धिताल र उपसभामुख विनाकुमारी थापाको विशेष उपस्थितिमा आयोजित कार्यक्रमले पोखरेललाई औपचारिकरूपमा बिदाइ गरेको हो।
विवादरहित, सुशासनमुखी कार्यकाल

विसं २०७७ भदौ १९ मा गण्डकीका तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनबाट सचिव पदमा नियुक्त हुुनुभएका पोखरेलले आफ्नो पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नआइकन प्रदेशसभा सचिवालयलाई प्रभावकारी ढंगले अगाडि बढाउनुभयो । उहाँको कार्यकालमा बेरुजु शून्य रहनु, सबै राजनीतिक दल, सांसद र कर्मचारीहरूसँग समदूरी कायम गर्दै काम गर्नु, र कार्यालयमा सुशासनको उदाहरणीय अभ्यास गर्नु प्रमुख विशेषता रह्यो।
“सुरुदेखि नै सचिवालयलाई व्यवस्थित बनाउने र सुशासनलाई केन्द्रमा राखेर काम गरेँ। सबैको साथ र सहयोगले मैले मेरो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकेँ,” सचिव पोखरेलले हिमाली आवाजसँग भन्नुभयो।
संरचनागत विकासमा पनि अग्रसर
प्रदेशसभाको स्थायी भवन निर्माणका लागि संघ र प्रदेश सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नु उहाँको अर्को उल्लेखनीय उपलब्धि रह्यो। हाल सो भवन निर्माणाधीन अवस्थामा छ, जुन सचिव पोखरेलकै सक्रिय पहलको नतिजा हो।
सरल र अनुशासित व्यक्तित्व
पदबाट निवृत्त भएपछि पनि पोखरेलले आफ्नो सरल र अनुशासित व्यवहार देखाउनुभयो । प्रदेशसभा सचिवालय ऐन २०७७ अनुसार सात दिनसम्म सरकारी सुविधा लिन सक्ने प्रावधान हुँदाहुँदै पनि उहाँले सरकारी गाडीको सट्टा निजी सवारी साधन आफैँ चलाएर घर फर्कनु भयो।