पोखरा यातायात प्रालिको साधारणसभामा पत्रकार गिरीलाई पुरस्कार

हिमाली आवाज । कास्की जिल्लाभर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको पोखरा यातायात प्रालिले आफ्नो सातौँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ ।

सो सभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले गर्नुभयो सो अवसरमा पौडेलले यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायात सुधार सरकारको प्राथमिकतामा कहिल्यै नपरेको समेत उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष तथा पोखरा यातायात प्रालिका सल्लाहाकार अमृत शर्मा तिमिल्सिनाले एशियाली विकास बैँकको सहयोगमा पोखराको यातायात व्यवस्थापन सुव्यवस्थित गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले पोखरा यातायातका बसहरुलाई विद्यूतीय बनाउने काम भइरहेको बताउनुभयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नपार्दा व्यवसायीहरु समस्या परेको बताउनुभयो । कार्यक्रममा सल्लाहकार वसन्त प्रधान र बमबहादुर गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका संयोजक कृष्ण पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पत्रकार कमल पौडेल अथक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष देवीराज थिङ लगायतले पनि व्यवसायीलाई यात्रु मैत्री सेवा प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा चालक जुनबहादुर गुरुङ, सहचालक रोशनकुमार गुरुङ, निरन्तर बस सञ्चालक सूर्यबहादुर गुरुङ, उत्कृष्ट कर्मचारी अर्चना थापा, साथै उत्कृष्ट अंक ल्याउने बस सञ्चालकका छोराछोरीमध्ये सुमना थापा मगर र क्रिसल पौडेललाई सम्मान गरिएको थियो । यस्तै, विभिन्न सहयोगदाताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रबन्ध निर्देशक देवीप्रसाद कुइकेल र सञ्चालन कम्पनी सचिव जीवन पौडेलले गर्नुभयो । ु
पत्रकार एकराजलाई पुरस्कार

सभामा पत्रकार एकराज गिरी सम्मानित हुनुभयो । पोखरा यातायात प्रालिले.स्थापना गरेको सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार २०८२ बाट सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले. सम्मान गर्नुभयो । पुरस्कारको राशि सम्मापत्र, दोसल्ला र नगद २५ हजार रहेको छ ।

Comments
Loading...