हिमाली आवाज । पोखरामा आजदेखी दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग सुरु भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिनको खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेल जितेका दुबै टोलीले तीन÷तीन अङ्क बटुलेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो । उसले तेस्रो सेट २५–१४ अंकले जितेर उत्कृष्ट सुरूवात गरेको हो ।
यसैगरी दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबिच तथा दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच खेल हुने आयोजकले जनाएको छ । भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ ।
आगामी भदौ २८ गतेसम्म चल्ने लिगमा ६ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले ‘सिंगल राउण्ड रोविन’का आधारमा एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई स्पोर्टस् हब बनाउने गरी सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले पोखरा क्रिकेट मैदान तथा फुटबल रंगशालाको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।


