हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ ।
गत जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो । माओवादीको सो अभियान आज (भदौ २१ गते) साँझ कास्कीको रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरिएको हो ।
शिक्षक समेत रहनुभएका शहीद खनाललाई विसं २०५८मा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो । उहाँका ज्येष्ठ छोरा प्रदीप खनाल विसं २०६० देखी बेपत्ता हुनुहुन्छ ।
माल्यार्पण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) तथा शहीद खनालकी श्रीमती राधिका खनाल पनि सहभागी हुनु भएको थियो ।
जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सात जना शहीद र एक जना बेपत्ता भएका थिए ।
माओवादीको गत साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान सुरु गर्ने गरिएको थियो ।
सो कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धलाई महान् क्रान्ति भन्दै शहीदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताउनुभयो
अध्यक्ष दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न खोजे पनि तेस्रो पटक प्रधानमन्त्री हुँदा मात्र त्यो कार्य सम्पन्न गर्न सफल भएको स्मरण गर्नुभयो ।

सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको उल्लेख गर्नुभयो ।
माओवादी अभियानमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नीप्रसाद सापकोटा लगायतका नेताहरु सहभागी हुनुहुन्छ । अभियान टोली आज साँझ लमजुङ प्रवेश गरेको छ ।


