सहारा खेलकुद पत्रकारिता पुरस्कार पाठकलाई

हिमाली आवाज । सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो ।

फुटबल मार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

प्रतिभा छनोट समितिमा क्लबका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधवप्रसाद बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एम.बि. आस्था, क्लब अध्यक्ष केशवराज बराल, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र महासचिव रामजीप्रसाद अधिकारी सदस्य रहनुभएको थियो ।

पर्वत जिल्ला स्थायी घर भई हाल पोखरा ८ निवासी पत्रकार पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील हुनुहुन्छ । प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष हुनुहुन्छ ।

यसैबिच, क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको छ । पोखरा–१७ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गर्नुभएको थियो । उहाँ क्लबमा रही हरेक गतिविधिमा क्रियाशील रहँदै आउनुभएको छ ।

संस्थाको २७ औँ वार्षिक साधारणसभा तथा १४ औँ अधिवेशन अवसरमा यही भदौ ३० गते पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा हुने समारोहमा पुरस्कार तथा सम्मान अर्पण गरिने महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।

Comments
Loading...