हिमाली आवाज । गण्डकी प्रदेशसभा सचिवालयको सचिवमा अधिवक्ता एवं प्राध्यापक गोविन्द पौडेल नियुक्त हुनुभएको छ ।
पोखरा महानगरपालिका–२० भलाम निवासी पौडेललाई सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आज सचिवालय सचिवको पदमा नियुक्त गर्नुभएको हो ।नेपालको संविधान धारा १९५ को प्रावधान अनुसार प्रदेश प्रमुख भट्टले पौडेललाई सचिव नियुक्त गर्नुभएको हो ।
संविधानमा प्रदेश प्रमुखले प्रदेश सभामुखको सिफारिसमा प्रदेशसभाको सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ । प्रदेशसभाको सचिवको योग्यता, काम कर्तव्य, अधिकार तथा सेवाका अन्य सर्त प्रदेश कानुन बमोजिम हुने उल्लेख छ ।नवनियुक्त सचिव पौडेलले आजनै सभामुख धितालसमक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गर्नुभयो ।

पौडेलले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र कानुनमा स्नाकोत्तर गर्नुभएको छ । उहाँ विसं २०७३ देखी पोखराको पृथ्वीनारायण क्याम्पससमा प्राध्यापनरत हुनुहुन्छ । यसैगरी विसं २०५६ देखी उहाँ अधिवक्ताको रुपमा काम गर्दै आउनुभएको छ ।नवनियुक्त सचिव पौडेलले प्रदेशसभाका काम कारवाहीहरु अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“ सभामुख, उपसभामुख लगायत प्रदेशसभाका कर्मचारीहरुको सहयोग लिएर सभाको काम प्रभावकारी, व्यवस्थित र उत्कृष्ट बनाउने छु । प्रदेशसभा सचिवालयलाई सुशासन र पारदर्शी बनाउने छु । ” प्रदेशसभाका संस्थापक सचिव हरिराज पोखरेल यही भदौ १८ गतेदेखी पाँच वर्षेको कार्यकाल पूरा गरी विदाई हुनुभएको थियो ।