पर्यटकलाई सहजीकरण गर्दै पर्यटन बोर्ड

विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न असहज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग समन्वय गरी सहज व्यवस्थापन मिलाइएको छ । विमानस्थलदेखि होटलसम्म आवतजावत गर्न सहजीकरण भइरहेको छ । पर्यटक आवतजावतका लागि मङ्गलवारदेखि काठमाडौँ र पोखरामा पर्यटकलाई सटल बसको व्यवस्था गरिएको छ ।

“पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन । उनीहरु निर्बाध रूपमा यात्रा गरिरहेका छन् । खासगरी काठमाडौँमा आगमन भइरहेको र काठमाडौँबाट स्वदेश फर्किने योजनामा रहेका पर्यटकलाई समस्या भइरहेको छ । विमानस्थलदेखि होटल र होटलबाट विमानस्थलसम्म लैजान सहजीकरण गरिएको छ”, सिइओ जोशीले भन्नुभयो । उहाँले मङ्गलवार दिउँसो सडक अवरुद्ध भए पनि विमानस्थलमा रहेका पर्यटकलाई पानी बिस्कुटको व्यवस्था गरी राति सुरक्षा निकायसँगको समन्वयमा होटलमा पुर्‍याउन सहजीकरण गरिएको बताउनुभयो ।

बोर्डको विवरणमा पछिल्लो १० दिनमा करिब ३५ हजार पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । उनीहरूमध्ये अधिकांश पदयात्रामा निस्किएका छन् । खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र, पोखरा र केही काठमाडौँ रहेका छन् । नेपालमा मनसुन सकिएर मुख्य पर्यटक सिजन सुरु हुने समय नजिकिएको छ । यो सिजनमा धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् ।

Comments
Loading...