हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज विहान ११ः०० बजेदेखी साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार पोखरा क्षेत्रमा लागू हुने गरी सो आदेश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुने र धर्ना, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

यस अवधिमा अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी सञ्चालन गर्न पाइनेछ ।
साथै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
पोखरामा जेनजी आन्दोलनका क्रममा गत मंगलबार दुई जनाको आगजनीमा परेर मृत्यु भएको पुष्टि भएको छ । यसैगरी प्रदर्शनकारीले पाँच दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी गरेर क्षति पुर्याएका छन् ।


