पर्यटन क्षेत्रमा व्यवसायिक सुरक्षा कायम राख्न पोखरा पर्यटन परिषद्को माग

हिमाली आवाज ।  पोखरामा क्रियाशिल पर्यटन सम्बद्ध संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा व्यवसायिक सुरक्षा कायम राख्न माग गरेको छ ।
परिषद्का तर्फबाट अध्यक्ष तारानाथ पहारीले सार्वजनिक अपिल जारी गर्दै आन्दोलनका नाममा हुने बन्द, हड्ताल, तोडफोड आगजनी जस्ता क्रियाकलापले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभावित हुने बताउँदै यस क्षेत्रमा व्यवसायिक सुरक्षाका लागि सम्बद्ध सबैसँग आग्रह गर्नुभएको हो ।
गत भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा उच्छृङ्खल व्यक्तिहरूको घुसपैठबाट भएको सार्वजनिक र निजी सम्पत्ति माथिको तोडफोड आगजनी तथा लुटपाटका घटनाहरू प्रति परिषद्को गम्भिर ध्यानाकर्षण भएको अपिलमा उल्लेख छ ।
राज्यमा  विदेशी मुद्रा भित्राउने प्रमुख माध्यम पर्यटन उद्योग माथि भएको प्रहार प्रति परिषद्ले खेद व्यक्त गरेको छ । कोभिड १९ पछि केही लयमा फर्कन लागेको पर्यटन व्यवसायलाई लक्षित गरि पर्यटन व्यवसायीका होटल, रेष्टुरेन्ट तथा पसलहरूमा भएको तोडफोड, आगजनी तथा लुटपाट एवम् पर्यटकीय सवारी साधनहरू माथी गरिएको तोडफोड तथा आगजनी प्रति गहिरो दुःख व्यक्त गर्दै परिषदले यसबाट आहत हुनुभएका सम्पूर्ण उद्यमी, व्यवसायीहरू प्रति साहानुभूति प्रकट गरेको छ ।
आन्दोलनका नाममा भएका यस्ता अवाञ्छित क्रियाकलापहरूको निष्पक्ष छानविन  गरि दोषी उपर कडा कानुनी कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न परिषद्ले नेपाल सरकारसँग माग गरेको छ ।
आन्दोलनको क्रममा ज्यान गुमाएका सम्पूर्ण प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिषद्ले शोक सन्तप्त परिवारजनमा समवेदना एवम् घाईतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आन्दोलनसँगै देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको उल्लेख गर्दै परिषदले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
Comments
Loading...