हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीका दुई वडा सभापतिलाई कारवाही गरेको छ ।
जेनजी आन्दोलनका क्रममा पोखरामा यही भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि पोखरा महानगरपालिका–१० का सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का सभापति भोजराज पौडेललाई पार्टीले कारवाही गरी निलम्वबन गरेको हो ।
रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले गरेको छानविनमा उनीहरुको संलग्नता पुष्टि भएपछि निलम्वन गर्ने निर्णय भएको आयोगका गण्डकी प्रदेश प्रमुख योगेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“थापा र पौडेल विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएकाले उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको छ । पार्टीको आचारसंहिता विपरित तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएकाले कारवाही गरिएको र अर्को निर्णय नभईञ्जेल यो लागू हुन्छ ।”
प्रदर्शनका क्रममा उनीहरु तोडफोडमा संलग्न भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि रास्वपाले कारवाही गरेको हो ।
अनुशासन आयोग प्रमुख केसीले पार्टीको निर्णय र सर्कुलर बिना तथा आचारसंहिता विपरित तोडफोड र आगजनीमा संलग्न भएका जोकोहीलाई पनि कारवाही गरिने बताउनुभयो ।
“पार्टीको जोसुकै होस्,निर्णय र निर्देशन बिना आचारसंहिता विपरित तोडफोड र आगजनीमा उत्रिने, पार्टी अनुशासन तोड्ने काम भएको छ भने तिनीहरुलाई निर्मम कारवाही हुन्छ ।” केसीले भन्नुभयो ।
पोखरामा यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा भवन, मन्त्रालयहरु, जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित अन्य कार्यालयहरु, व्यापारिक प्रतिष्ठान, निजी घर तथा राजनीतिक दलका कार्यालयमा आगजनी तथा तोडफोड गरिएको थियो ।