हिमाली आवाज । विश्व पर्यटन दिवसमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडी सहभागी भएका छन् । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडीले ६ वटा इभेण्टमा सहभागिताका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दुरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा १ सय ६० जना धावकले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनुभयाे । उहाँका अनुसार प्रतियोगितामा नेपालसहित वेलायत, नर्वे, इजरायल, प्र्रmान्स, अमेरिका र स्पेनका धावकले नाम दर्ता गराएका छन् ।
नेपालको सन्दर्भमा मधेश प्रदेश बाहेक ६ वटा प्रदेशबाट महिला–पुरुषले ६ वटा विधामै नाम दर्ता गराएका छन् । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । खुलातर्फका विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार तेस्रो हुनेलाई १५ हजार प्रदान गरिने भएको छ ।
यसैबीच, सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने भएको छ । आयोजकले यस वर्षको प्रतिभा प्रोत्साहन सम्मानबाट तनहुँका विश्व कीर्तिमानी धावक घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष समाजसेवी गुरुङलाई सम्मान गर्ने भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनु भयो । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित हुनु भएको थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनीको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताउनुभयो ।
गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने तयारी गरिएको स्थानीय मिलन गुरुङले जानकारी दिनुभयो ।